अमेरिकासँग बढ्दो तनावका बीच उत्तर कोरियाले आफू आणविक आक्रमणका लागि सक्षम भएको जनाउँदै उत्तेजक व्यवहार प्रदर्शन नगर्न चेतावनी दिएको छ।
‘जुनसुकै आणविक आक्रमणको प्रतिकारमा हामी हाम्रै शैलीको आणविक आक्रमण गर्न तयार छौँ,’ उत्तर कोरियाका दोस्रो शक्तिशाली व्यक्ति मानिने चो रायोङ हाइको भनाइ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उधृत गरेका छन्।
राजधानी प्योङयोङमा राष्ट्रपिता किम इल सुङको १०५ औँ जन्म दिवस मनाउने क्रममा उत्तर कोरियाले एक भव्य परेड आयोजना गर्नुका साथै अत्याधुनिक हतियार समेत प्रदर्शन गरेको छ।
प्रदर्शन गरिएकामध्ये एक नयाँ पण्डुबी जहाजबाट प्रहार गर्न मिल्ने अन्तरमहादेशीय मिसाइल पनि रहेको जनाइएको छ।
‘सूर्य दिवस’ समारोहमा राष्ट्रपति किम जोङ उनले सलामी लिएका थिए भने लडाकु विमानले आकाशमा फन्को मारेका थिए। हजारौँ मानिस सडक र चोकमा निस्किएका थिए।
उत्तर कोरियाको हतियार प्रदर्शनबाट सो देशले ठूलो उपलब्धि हासिल गरेको पुष्टि भएको विश्लेषण गरिएको छ।
अमेरिकाले हालै कार्ल भिन्सोन युद्धपोत र सैनिकहरुलाई कोरियाली प्रायद्वीपमा तयार पारेपछि तनावमा वृद्धि भएको हो। यसैबीच उत्तर कोरियाले अर्को आणविक परीक्षण गर्ने आशंका पनि गरिएको छ। बढ्दो तनावका बीच चीनले भने युद्धबाट कोही पनि विजयी नबन्ने बताएको छ।