अमेरिकाद्वारा अफगानिस्तानमा अहिलेसम्मकै ठूलो बम प्रहार
Everest Fuji News२०७४ बैशाख १ मा प्रकाशितPublished at 2017 Apr 14
अमेरिकाले पहिलो पल्ट इश्लामिक आतकवादी संस्था ‘आइएसआइएस’ विरुद्ध सबैभन्दा ठूलो अपरेशनको सुरुवात गरेको छ। राष्ट्रपति बन्नुअघि डोनाल्ड ट्रम्पले ‘आइएसआइएस’ विरुद्ध ठूलो अभियान थाल्ने बताएका थिए।
उनको घोषणा अनुरुप अमेरिकाले अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रनजिकै अचिन जिल्लामा १० हजार किलो क्षमताको गैर–परमाणु बम विहिबार राती झारेको छ। ‘आइएसआइएस’ का आतंकवादीहरु संगठित रुपमा बसेको हुन सक्ने आशंकाका बीच अमेरिकाले पाकिस्तानको पेशावरदेखि १ सय १५ किलोमिटर टाढा अफगानिस्तानको नाङगरहार प्रदेशको अचिन जिल्लामा बम बिस्फोट गराएको हो। यो घटनामा ३६ आतंकवादीको निधन भएको दावी गरिएको छ।
जिबियू–४३ नाम गरेको बम अफगानिस्तानमा सफलतापूर्वक खसाएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले सेनालाई बधाई दिएका छन्। र, उनले बम खसाउन आफूले आदेश दिएको बताएका छन्।
अमेरिकाको यो आक्रमणलाई अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कार्जाईले गैरजिम्मेवार भनेका छन्। उनले अमेरिकाले अफगानिस्तानलाई बम परीक्षण केन्द्र बनाउन लागेकोमा खेद प्रकट गरे।
जिबियू–४३ बमको अमेरिकाले सन् २००३ मा सफलतापूर्वक परीक्षण गरेको थियो। बम बिस्फोट गराएपछि ‘आइएसआइएस’ को नाङगरहार प्रदेशमा रहेको तालिम केन्द्र ध्वस्त भएको बताइएको छ।
अफगानिस्तानमा झारिएको बमलाई ‘बमकी आमा’ को उपमा दिइएको छ। अमेरिकाले पहिलो पल्ट यो बमको प्रयोग गरेको हो। बममा ११ टन अर्थात ११ हजार किलो बिस्फोटक हुने गर्छ। अमेरिकाले आफ्नो भीमकाय एमसी–१३० एयरक्राफ्टको सहयोगले बमलाई अफगानिस्तानमा झारेको थियो। अमेरिकाले बम सुरुमा इराक युद्धका लागि बनाएको थियो। एक साताअघि पनि अमेरिकाले सिरियामा ५० भन्दा बढि मिसाइल प्रहार गरिसकेको छ।