बेलायतमा भिसा शुल्क महँगियो

Everest Fuji News २०७३ चैत्र २५ मा प्रकाशित       Published at 2017 Apr 07


काठमाडौं । बेलायतले बिहीबारदेखि विदेशीलाई दिइने भिसाको शुल्क बढाएको छ । यहाँको गृह मन्त्रालयले अघिल्लो वर्षको मार्चमा शुल्क बढाउनेबारे गरेको निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको हो । बेलायत आउनेहरूका लागि कडाइ गर्न शुल्क महँगो बनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । ‘बिजनेस इन्साइडर’ का अनुसार नयाँ नियमले भारतीय र युरोपेली युनियन बाहिरका कामदारलाई असर पर्नेछ । पछिल्लो नियम बेलायतलाई आफ्नो रुट बनाउनेहरूलाई समेत प्रभावित पार्ने देखिन्छ । अबदेखि बेलायतमा रहेका कम्पनीहरूले युरोपेली युनियन बाहिरका कामदार ल्याउँदा ‘इमिग्रेसन स्किल्स चार्ज’ का रूपमा वार्षिक १ हजार पाउन्ड अतिरिक्त शुल्क तिर्नुपर्नेछ । भारतीयहरू र गैर–युरोपेली संघका नागरिकहरूका लागि बेलायतको भिसा शुल्क थप महँगो भएको ‘इन्डियन एक्सप्रेस’ अनलाइन संस्करणमा पनि उल्लेख छ । अनलाइनले लेखेको छ, ‘सन् २०१६ मा बेलायत सरकारले गरेको घोषणाअनुरूप भिसा शुल्क बढेको हो, बसाइसराइ गरी आउने कामदारको संख्या घटाउन र भिसा नियमलाई केही कडाइ गर्ने गरी सरकारले यो प्रयास गरेको देखिन्छ ।’ साना अथवा परोपकार क्षेत्रमा काम गर्ने संस्थाहरूका लागि भने ३६४ पाउन्डले खर्च घटाइएको छ । बेलायती अर्थतन्त्रमा सहयोग पुग्नेबाहेक अन्यलाई निस्तेज गर्ने उद्देश्यले पछिल्लो नियम आएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ । बेलायतमा रोजगारका लागि आउने दक्ष कामदारले पाउने भिसा ‘टियर २ भिसा’ हो । यो भिसामा बेलायत आउनेले कम्तीमा २० हजार ८ सय पाउन्ड पाउनुपर्ने प्रावधान छ । बिहीबारदेखि लागू निर्णयले बेलायतमा प्रधान कार्यालय रहेको स्पोन्सर कम्पनीले कामदारको न्यूनतम तलब २५ हजार पाउन्डदेखि ३० हजारसम्म बढाउनुपर्नेछ । अनुभवी कामदारका लागि यो भिसाका कामको प्रस्ताव र बेलायतमा रोजगारदाताको स्पोन्सर सर्टिफिकेट आवश्यक पर्छ । यस प्रकारको प्रमाणपत्र ‘टियर २ स्पोन्सरसिप लाइसेन्स’ हुनेले मात्रै उपलब्ध गराउन सक्ने व्यवस्था रहेको वर्कपर्मिट डट कमले जनाएको छ । त्यस्तै ‘टियर १’ साधारण भिसाअन्तर्गत स्वतन्त्र दक्ष इमाइग्रेसनका लागि उपलब्ध हुने गर्छ । तर, यो भिसा नयाँ आवेदकहरूका लागि सन् २०११ को अप्रिलबाट उपलब्ध छैन ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.