अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘आइएस’ को निशानामा ताजमहल !
Everest Fuji News२०७३ चैत्र ५ मा प्रकाशितPublished at 2017 Mar 18
नयाँ दिल्ली । भारतको आगरास्थित मुगलकालिन स्मारक ‘ताजमहल’ आतंकवादका कारण खतरामा परेको भन्दै सुरक्षा बढाइएको छ ।
हालै केही संचारमाध्यमले अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले ताजमहलमा आक्रमण गर्ने योजना बनाएको समाचार प्रकाशमा ल्याएका थिए ।
भारतीय सुरक्षा स्रोतका अनुसार इन्टरनेटमा एउटा लिंक व्यापक शेयर भइरहेको थियो जसमा आइएसले ताजमहलमा हमलाको योजना बनाएको उल्लेख थियो । सुरक्षा निकायले उक्त समाचारको सत्यता बारेमा अनुसन्धान सुरु गरेको र ताजमहल आसपास सुरक्षा कडा तुल्याइएको जनाएको छ ।
उल्लेखनीय छ, एउटा वेबसाइटमा प्रकाशित ग्राफिक्समा ताजमहल नजिकै उभिएको सशस्त्र लडाकुलाई देखाइएको थियो । आइएसको समर्थन गर्दै आएको एक मिडिया ग्रुपले ताजमहललाई आइएसको सम्भावित हमलाको निशानाका रुपमा देखाइएको बताइन्छ ।
केही दिनअघि भारतको उत्तर प्रदेशमा सुरक्षाकर्मीले गरेको कारवाहीमा आइएससँग आवद्ध संदिग्ध मारिएको घटनाले पनि भारतमा आइएसको गतिविधि विस्तार हुँदै गएको अनुमान गर्न सकिन्छ । सो कारवाहीमा भारतीय सुरक्षाकर्मीले ६ संदिग्धलाई नियन्त्रणमा समेत लिएका छन् । (एजेन्सी)