अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मेक्सिकाे सिमानामा पर्खाल लगाउने अादेश -
Everest Fuji News२०७३ माघ १४ मा प्रकाशितPublished at 2017 Jan 27
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पार गर्न नसकिने पर्खाल बनाउने सम्बन्धी कार्यकारी आदेश जारी गरेका छन् ।राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउने सम्बन्धी निर्देशनमा हस्ताक्षर गर्दै यसमा तत्काल काम सुरु गरिने बताए । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीमा भएको एक विशेष कार्यक्रमका बिच ट्रक्पले मेक्सिकोसँग जोडिएको अमेरिकाको दक्षिणी सीमामा दुई हजार माइल भन्दा लामो पर्खाल बनाउने सम्बन्धी निदेर्शनमा बुधबार हस्ताक्षर गरेका हुन् । यसले अवैध आप्रवासी र लागुऔषधको कारोबारलाई रोक्ने ट्रम्पको दाबी छ ।चुनावी अभियानकै क्रममा ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल बनाउने बताउँदै आउनुभएको थियो ।
यस्तै गैरकानुनी आप्रवासीको बसोबास बढिरहेको तथा त्यस्ता अाप्रवासीलाई आश्रय दिएका अमेरिकी शहरलाई दिइने सहयोग कटौतीसम्बन्धी दस्तावेजमा पनि राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका छन्।
एबिसी न्युज टेलिभिजनसँगको अन्तर्वातामा राष्ट्रपति ट्रम्पले पर्खाल बनाउने खर्च मेक्सिकोले पनि बेहोर्नु पर्ने बताएका छन् । तर, मेक्सिकोका राष्ट्रपति इन्रिक पेना नेटाेले भने एक पेनी पनि तिर्न अस्वीकार गरेका छन् । अर्बौं डलर खर्च हुने यो प्रस्तावका लागि ट्रम्पले कांग्रेसको स्वीकृति लिनु पर्छ ।
ट्रम्पले देशको सुरक्षा बढाउने सम्बन्धी अर्को एक प्रस्तावमा पनि हस्ताक्षर गरेका छन् । ट्रम्पले बिद्रोहीको आरोपमा पक्राउ परेकासँग गरिने सोधपुछको तरिकामा पनि समीक्षा गर्ने तयारी गरेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
ट्रम्पले यस्तै गुप्तचर विभाग सिआइएले अमेरिकाभन्दा बाहिर चलाउने गोप्य बन्दीगृह फेरि खोल्ने बारे पनि विचार गरिरहेको उल्लेख छ । यस्ता बन्दीगृह अहिले भने बन्द छन् । बिना राष्ट्रिय सीमाको देश नहुने भन्दै ट्रम्पले देशको दक्षिणी सीमामा संकटको अवस्था रहेकाले त्यसलाई समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको दाबी गरेका छन् ।