नेपाली मूलकी नताशा टोकियोको अष्ट्रेलियन दूतावासमा प्रथम सचिव
Everest Fuji News२०७३ माघ १० मा प्रकाशितPublished at 2017 Jan 23
सोमवार माघ -१० , जापान ।
सन् १९८४ मा नेपालको पाटन अस्पतालमा जन्मिएकी नेपाली मुलकी अष्ट्रेलियन कुटनीतिज्ञ नताशा हमाल जापानको टोकियोस्थित अष्ट्रेलियन दूतावासमा प्रथम सचिव बन्नुभएको छ ।नताशाले अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्र र बजारशास्त्रमा स्नातक तथा सर्टिफाइड पब्लिक अकाउन्टेन्ट (सीपीए) अध्ययन पूरागर्नु भएको छ ।
आठ वर्ष अघि अर्थमन्त्रालयको वित्त बिभागबाट अष्ट्रेलियाको सरकारी सेवामा प्रवेश गरेकी उनले अष्ट्रेलियन एडको सेवामा हुँदा सर्विया, भानुवाटु, पपुवा न्युगिनी, सिंगापुर लगायतका देशमा पुगेर अष्ट्रेलियन सरकारको प्रतिनिधिका रुपमा सेवा गर्नुभएको अनुभव छ।
अष्ट्रेलियाको परराष्ट्र मन्त्रालयले केही महिना अघि कुटनीतिक सेवाका लागि लिएको परीक्षामा सहभागी चार दर्जन अष्ट्रेलियन कर्मचारीहरुमध्ये चुनिने ६ जनामा नेपाली मुलकी एकमात्र कर्मचारी नताशा थिइन् ।
नताशाले कुटनीतिक सेवामा राम्रो प्रगति गर्दै गएमा उनी भविष्यमा नेपाली मूलको पहिलो अष्ट्रेलियन राजदूत बन्ने उनका पिता डा. कृष्ण हमालले दावी गरे।
उनी चार वर्षको उमेरमा उनका माता-पितासँगै क्यानडा गइन् । १९९१ मा अविभावकहरु अष्ट्रेलिया आएपछि उनी यतै हुर्किइन् ।
उनले आफू जहाँ भएपनि नेपाली कला र सँस्कृतिको जगेर्ना गर्न लागिरहने विदाईमा आफ्ना अविभावकहरुलाई बताइन् । उनी तीन वर्ष टोकियो बस्नेछिन् ।
उनले भारतीय मूलका अष्ट्रेलियन नागरिक तथा सफ्टवेयर इन्जिनियर दीपक डोर्वीसँग विवाह गरेकी छन् ।
नताशालाई नेपाली सँस्कृति र कलाप्रति गहिरो प्रेम छ । त्यसको उदाहरण क्यानवेरामा हुने नेपाली जमघटहरुमा नेपाली गीत संगीतमा उनले गर्ने राम्रो नृत्य हो ।