(विश्व) । न्युयोर्कअवस्थित वकालत समूह ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट’ खासगरी विदेशभूमिमा भएका प्रेस स्वतन्त्रता आन्दोलनमा केन्द्रित हुन्छ । विगतमा यो समूहले टर्की, इजिप्ट, इरान, चीनसहित विभिन्न देशमा संवाददाता तथा फोटोग्राफरमाथि भएका ज्यादतीको निन्दा गरेको छ । तर, यो वर्ष अघिल्ला वर्षझैँ छैन । राष्ट्रपतीय निर्वाचन अभियानभरि डोनाल्ड ट्रम्पले पत्रकारको मजाक उडाए । उनले यस्तो धमिलो वातावरण निर्माण गरे, जहाँ उनका समर्थकले प्रेस सिपाहीको हाँसो उडाए, धम्की दिए । कमिटीले मंगलबार राति न्युयोर्कमा वार्षिक डिनर आयोजना गर्यो र अमेरिकामै ध्यान दिने निर्णय गर्यो । यो सही छ । यो राष्ट्रका केही उत्तम पत्रकारले खतरा औंल्याएका छन्, जुन सत्य छन् । यो राष्ट्रका संस्थापकले पहिलो संशोधनमै स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताको प्रतिष्ठापन गरेका छन् । र, अमेरिकाले यी पवित्र सिद्धान्तको मुख्य अन्तर्राष्ट्रिय वकालतकर्ताका रूपमा लामो समयदेखि नेतृत्व गर्दै आएको छ । द न्यु योर्करका सम्पादक डेभिड रेम्निक भन्छन्, ‘यो वर्ष प्रेस स्वतन्त्रतामाथि खतरा हाम्रो घरनजिकै छ । यो यहीँ छ ।’ सिएनएनमाथि ट्रम्पलाई अलि बढी स्थान दिएको आरोप लागेको भए पनि यसका अध्यक्ष जेफजकरले प्रतिबद्धता जनाए, ‘हामी नयाँ प्रशासनलाई जिम्मेवार बनाइरहनेछौँ, मन नपरे पनि उनीहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्नैपर्छ ।’ यद्यपि, सबैभन्दा प्रभावकारी भाषण थियो सिएनएनकी मुख्य अन्तर्राष्ट्रिय संवाददता क्रिस्टियान आमानपोरको । उनले प्रेस स्वतन्त्रताका लागि उल्लेखनीय कार्य गरेबापत यो वर्षको बर्टन बेन्जामिन मेमोरियल अवार्ड पनि प्राप्त गरिन् । उनले भनिन्, ‘यस्तो अवसरमा कैयौँपटक भाग लिए पनि मैले कहिल्यै पनि आफ्नै राष्ट्रमा अमेरिकी पत्रकारको स्वतन्त्रता र सुरक्षाका लागि यसरी खडा हुनुपर्ला भनेर सोचेको थिइनँ ।’ आमानपोरले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा झुटा समाचारको बढतको निन्दा गरिन् । यो यस्तो संस्कृति हो, जसले तथ्यलाई अस्वीकार गर्छ तथा उम्मेदवारबीचको कभरेजलाई सन्तुलित बनाउन सञ्चारमाध्यमले आफैँलाई बंग्याउँछ । उनले असाध्यै धेरै मतदाताले आधारभूत अमेरिकी मूल्य–मान्यताप्रति ढाड फर्काएकोमा पनि आश्चर्य व्यक्त गरिन् । उनले भनिन्, ‘उनीहरूले ट्रम्पको भाषाको अश्लीलता, यौन हिंस्रक व्यवहार, महिलाप्रतिको खराब दृष्टिकोण तथा कट्टर तथा अपमानजनक विचारको नजरअन्दाज गरे ।’ ्रम्पले अन्ततः प्रेसप्रतिका आफ्ना व्यवहारलाई नरम बनाउने आशा व्यक्त गरे पनि अमानपोरले इजिप्टका सिसी, टर्कीका एरोदगान, रुसका पुटिन, इरानका आयोतोल्हाजस्ता शासकले गरेको जस्तै हर्कतको खतरा रहेको कुरा घुमाउरो भाषामा राखिन् । उनले आफ्नो मन्तव्यको अन्त्यमा कुनै त्रास र पक्षपातविना प्रेसलाई बलियो र तथ्यमा आधारित रिपोर्टिङमा प्रतिबद्ध हुन आह्वान गरिन् । उनले अमेरिकाको पत्रकारिता र लोकतन्त्र मृत्युको खतरामा रहेकोमा जोड दिइन्, ‘ढँटुवा, टेढे वा असफल (ट्रम्पका केही लोकप्रिय विशेषण) को उपमा पाइएला भनेर नडराऔँ । हामी सबै एकजुट हुनुपर्छ किनकि विभाजित भयौँ भने हामी सबैको पतन हुन्छ ।’ कमिटीले उक्त अवसरमा कैयौँ अन्तर्राष्ट्रिय पत्रकारलाई तिनका साहसिक कार्यका लागि सम्मान पनि ग¥यो । ती पत्रकारले हत्याको धम्की, जेल, गोली प्रहार तथा अदालती अभियोगको पनि सामना गरिरहेका छन् । तुलनात्मक हिसाबले अमेरिकी पत्रकारलाई निकै सजिलो छ । तर, यहाँ जे हुन्छ, त्यसको बाँकी विश्वमा गहन अर्थ हुन्छ । अमेरिकामा गहन संकल्पसहित प्रेस स्वतन्त्रताको रक्षा गरिएन भने यसका आधारभूत सिद्धान्तको रक्षा र प्रवद्र्धन अन्यत्र कहीँ पनि हुनै सक्दैन । (जियाकोमा न्युयोर्क टाइम्सको सम्पादन बोर्डकी सदस्य हुन्) (न्युयोर्क टाइम्सबाट )