टोक्यो । जापानले उच्च दक्ष विदेशीहरुलाई दिइदै आएको ग्रीन कार्ड प्रक्रियालाई अझ सरल बनाउँने भएको छ । जापानको मन्द बन्दै गएको आर्थिक क्षेत्रमा दक्ष र विशेषज्ञ विदेशीहरुलाई आकर्षित गने उदेश्यले सरकार ग्रीन कार्डलाई अझ सहज र सरल बनाउँने योजनामा जुटेको हो । यहाँको न्याय मन्त्रालयले मंगलवार भनेको छ–विश्वका प्रतिभाशाली र क्षमतावान जनशक्तिहरुलाई जापान भित्र्याउने सरकारको योजना हो । यसका लागि ग्रीन कार्ड लगायतका कानूनी जटिलताहरुलाई सहज र परिमार्जन गरिनेछ । सरकारले टप लेभलका दक्ष जनशक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेको छ । निक्केई आर्थिक दैनिकले जनाए अनुसार यस्ता जनशक्तिहरुलाई बढीमा तीन वर्ष वा एकै वर्षमा नै ग्रीन कार्ड दिने गरि कानूनी व्यवस्था बनाइदैछ । अहिले विद्यमान कानून अनुसार जापानको ग्रीन कार्ड पाउन विदेशी नागरिकले कम्तीमा पाँच वर्ष जापान बसेको हुनुपर्छ । सामान्य अवस्थामा त १० वर्षपछि मात्र ग्रीन कार्ड पाउन सक्ने कडा प्रावधान छ । नयाँ व्यवस्थाका बारेमा आगामी मार्चभित्र निर्देशिका तयार भइसक्ने जापानको न्याय मन्त्रालय स्रोतले जनाएको छ । यस्ता विदेशीहरुको मूल्यांकन उनीहरुले जापानमा गर्ने वार्षिक आम्दानी,शैक्षिक पृष्ठभूमि र भाषाको दक्षता लगायतका आधारमा गरिनेछ । साथै ग्रीन कार्ड लिइसकेकाहरुले उनीहरुका अभिभावक र घरमा सघाउने कामदारलाई वर्किङ भिसामा ल्याउन पाइने प्रावधान समेत बनाइने बताइएको छ । यसैबीच जापानको तल्लो सदनले केयरगिभर क्षेत्रमा काम गर्ने विदेशी कामदारलाई वर्किङ भिसा दिने गरि संशोधन गरिएको अद्यागमन नीति पारित गएको छ । यो नीति पारित भएसँगै न्यून वेतन पाउने क्षेत्र जस्तै केयर गिभर,घरेलु कामदार र कृषि क्षेत्रमा कानूनी रुपमै वर्किङ भिसा लिएर जापान आउन पाउने बाटो खुलेको छ । ( नेपाल सरोकार)