काठमाडौं, २ कात्तिक । चार दिनअघि भारतमा विश्वका पाँच उदीयमान राष्ट्रहरूको सम्मेलन भयो । नरेन्द्र मोदीको सरकार न प-यो, सम्मलेनको धुवाँधार प्रचार गरियो । महाशक्ति राष्ट्रहरूका समेत प्रमुख भारतमा आउने यो सम्मेलन वास्तवमै भारतका लागि समेत ऐतिहासिक थियो । पहिले ब्राजिल, रुस, चीन र भारत (ब्रिक)मिलेर बनेको उदीयमान राष्ट्रको समूहमा सन् २०१० मा दक्षिण अफ्रिका थपिएको थियो र त्यसलाई (ब्रिक्स) भन्न थालिएको हो । यो समूहले आफूलाई विकासशील र औद्योगिकीकरणतर्फ लम्किएका मुलुकहरूको समूहका रूपमा चिनाएको छ । स्मरणीय छ, यी ५ वटै देशहरू आ–आफ्नो क्षेत्रका प्रभावशाली देश समेत हुन् र यिनको क्षेत्रीय प्रभाव त छँदैछ, उत्तिकै अन्तर्राष्ट्रिय प्रभाव समेत छ । भारत, दक्षिण अफ्रिका र ब्राजिललाई छाड्ने हो भने विश्व रंगमञ्चमा चीन र रुसको प्रभाव पछिल्ला दिनमा ह्वात्तै बढेर गएको छ । भारतीय प्रम नरेन्द्र मोदी सम्मेलन सकिएको दिनको भाषणमा ‘पाकिस्तानलाई आतंकवादलाई सहयोग गर्ने राष्ट्र’ भन्न पनि सकेनन्, जुन वास्तवमै उनी चाहन्थे । विदेशी नेताहरू रहेको ब्रिक्सको मञ्चमा भारतीय प्रम नरेन्द्र मोदीले पाकिस्तानलाई दबाब दिने उद्देश्यले ‘पाकिस्तानलाई आतंकवादको जननी’ भएको आशयको भाषण दिए तर पनि सम्मेलनमा भारतीय प्रमको आशय र चाहनाको सम्बोधन अन्य ब्रिक्स राष्ट्रले गर्न चाहेको देखिएन । उसो त स्पष्ट रूपमा मोदी आफैँले पनि सम्मेलन सकिएको दिनको भाषणमा ‘पाकिस्तानलाई आतंकवादलाई सहयोग गर्ने राष्ट्र’ भन्न पनि सकेनन्, जुन वास्तवमै उनी चाहन्थे । त्यतिमात्र होइन, ‘गोवा घोषणापत्र’मा पाकिस्तानमा रहेका आतंकवादी संघ–संस्थाको नाम समेत उल्लेख गर्ने भारतीय मनसाय पूरा हुन नपाएको भारतीय मिडियाले नै उल्लेख गरेका छन् । अझै त्योभन्दा महत्त्वपूर्ण घटना के छ भने भारतीय प्रम मोदीले ‘पाकिस्तान आतंकवादको जननी भएको’ आशयको अभिव्यक्ति दिएको भोलिपल्टै चीनका परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुवा चुन्यिङलाई मोदीले पाकिस्तानको बारेमा दिएको प्रतिक्रियाका बारेमा सोध्दा उनले भनिन्, ‘चीनले कुनै खास देश, धर्म र जातिलाई आतंकवादसँग जोड्न चाहँदैन ।’ यसो भनेर उनले मोदी–प्रतिक्रियाप्रति चीनको गम्भीर आपत्ति रहेको सङ्केत दिइन् ।प्रवक्ता हुवाले उल्टै पाकिस्तानले आतंकवादसँग लड्ने सवालमा थुप्रै बलिदानहरूसमेत दिएको बताइन् । उनले भनिन्, ‘भारत र पाकिस्तान दुवै आतंकवादबाट पीडित राष्ट्र हुन् । पाकिस्तानले आतंकवादसँग लडेको र बलिदानसमेत गरेको छ । अन्तर्राष्ट्रिय समुदायले यसको सम्मान गर्नुपर्छ ।’ मोदीले पाकिस्तानप्रति चाहेको असहयोग र निन्दाको सट्टा चीनले गरेको सम्मानले धेरै कुरा प्रष्ट्याएको छ । पाकिस्तान र भारतबीच काश्मिरको विषयलाई लिएर भएको तनावका बारेमा समेत हुवाको अभिव्यक्तिले धेरै कुराको खुलासा गरेको छ । गत सेप्टेम्बर १८ का दिन भारत–प्रशासित काश्मिरको उरीको भारतीय सैन्यशिविरमा भएको एक आक्रमणमा १९ भारतीय जवान मारिएका थिए र त्यसैको प्रतिउत्तर स्वरूप भारतले गत सेप्टेम्बर २९ का दिन पाकिस्तान प्रशासित काश्मिरतर्फ नियन्त्रणरेखा नाघेर ‘सर्जिकल आक्रमण’ गरेको दाबी गरेको थियो । भारतको यस दाबीलाई असत्य भएको भन्दै आफ्ना दुई सैनिक मात्र आक्रमणमा मारिएको पाकिस्तानले बताएको थियो। पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ र चिनियाँ राष्ट्रपति सि जिङ पिङ। तर तामझामसहित आयोजित बलियो ‘ब्रिक्स’मा ‘राज्य प्रायोजित आतंकवाद’लाई ‘घोषणापत्र’मा उल्लेख गराउने भारतीय चाहना अन्ततोगत्वा सफल हुन सकेन । मित्रहरूले भारतीय ‘आस्कोट’ लगाउन मानेपनि ‘इँटा’जस्ता बलियो ‘साथीहरूको समूह’मा यति सानो प्रस्तावलाई ‘घोषणा’मा छिराउन मोदीले सकेनन् । जबकि रुसले यो घोषणामा आतंकवादसम्बन्धी आफ्ना चासोहरू सम्बोधन गराउन सहजै सफल भयो । यसको अर्थ यो पनि भयो कि पछिल्ला दिनहरूमा चीन र रुसको सम्बन्ध झाँगिदैछ । त्यसको पछिल्लो उदाहरण चीनको दक्षिणी सागरमा भएको संयुक्त सैनिक अभ्यास पनि हो । स्मरणीय छ, केही हप्ताअघि मात्र रुसले पाकिस्तानी सेनासित ‘आतंकवादविरोधी’संयुक्त सैनिक अभ्यास गरेको थियो । अहिले भारतीय मिडियाामा ब्रिक्स सम्मेलनको घोषणामा ‘राज्य–प्रायोजित आतंकवाद’को विषयलाई उठाउन नसकिएको कुरालाई लिएर नरेन्द्र मोदी असफल भएको चित्रण गरिएको छ । र, सम्भवतः अन्तर्राष्ट्रिय मञ्चहरूमा पुगेर मात्र होइन, विदेशी चौर र सडकमा समेत भाषण दिएर ‘सेलिब्रिटी’ हुन खोज्ने मोदीलाई ब्रिक्स सम्मेलनमा आफ्नो स्वार्थको सम्बोधन गर्न नसकेकोमा खिन्नताबोध भइरहेको हुनुपर्छ । भारत र पाकिस्तानबीचको जारी तनाव एउटा निरन्तर वास्तविकता हो । यो भारत र पाकिस्तानबीचको परम्परागत दुश्मनी हो र सम्भवतः कुनै एक पक्षको ठूलो त्याग, समर्पण अथवा एउटा निर्णायक युद्ध नभइकन यो टुंगिने पनि छैन । तरपनि ब्रिक्स सम्मेलनमा चीन र रुसकोे पाकिस्तानप्रतिको सहानुभूति र चीनको पछिल्लो अभिव्यक्तिले भारतले भनेको पाकिस्तानविरुद्धको युद्ध दिवास्वप्न मात्र हुनेछ । (लोकान्तर )