राजधानी नयाँ दिल्लीलगायत भारतभरका चिकित्सकहरूले कार्यस्थलमा राम्रो सुरक्षाको माग गर्दै बिरोध प्रदर्शन गरेका छन् ।
गत साता कोलकाताको आरजी कार मेडिकल कलेज र अस्पतालमा ३१ वर्षीय डाक्टरको बलात्कार गरेर हत्या गरेपछि सुरु भएको प्रदर्शन जारी रहेको छ । यस घटनाले स्वास्थ्य सेवा पेशेवरहरूको सुरक्षाको बारेमा चिन्ता बढाएको चिकित्सकहरुको भनाई रहेको छ । आन्दोलनकारीहरूले सरकारलाई चिकित्सा कर्मचारीहरूको सुरक्षा र सुरक्षित काम गर्ने वातावरण सुनिश्चित गर्न कडा कदमहरू लागू गर्न आग्रह गरेका छन् । भारतका सवै अस्पतालका ओपीडी र शल्यक्रिया सेवा बन्द भएका छन् । प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा भारतीय चिकित्सा संघ आइएमएले आइतबार भारतभरका सबै अस्पतालमा ओपीडी र शल्यक्रिया सेवा बन्द गराएको हो । २४ घण्टाका लागि सबै अस्पतालहरुमा ओपीडी र शल्यक्रिया सेवा बन्द रहेको आइएमएलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । डाक्टर मारिएको आरजी कर अस्पतालमा प्रदर्शनकारीले तोडफोड गर्ने जोखिम बढेपछि स्थानीय सरकारले निषेधाज्ञा लगाएको बीबीसी हिन्दीले जनाएको छ । यसैबीच भारतीय स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षाको बिषयमा अध्ययन गरी सुझाव दिन एक समिति गठन गर्ने आश्वासन दिएको छ । डाक्टरको आन्दोलनका कारण भारतको स्वास्थ्य सेवा प्रभावित भएको छ ।।