अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन नेपालको अपिल

Everest Fuji News २०८१ बैशाख २४ मा प्रकाशित       Published at 2024 May 06



नेपालले अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ ।
जर्जियाको राजधानीमा आयोजित एसियाली विकास बैंकको बोर्ड अफ गभर्नरको ५७ औं वार्षिक बैठकमा अर्थसचिव मधुकुमार मरासिनीले सो अपिल गर्नुभएको हो । उहाँले कोभिड–१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्र र विकासका आकांक्षा सम्बोधन गर्न ठूलो पुँजी परिचालन गर्नुपर्ने भएकाले सहुलियतपूर्ण सहायता उपलब्ध गराउन आग्रह गर्नुभएको हो । उहाँले नेपाल हरित, उत्थानशील र समावेशी विकासको अवधारणामा अघि बढेको भन्दै वित्तीय र प्राविधिक सहयोग बढाउन एसियाली विकास बैंकसहित सबै विकास साझेदारसँग आग्रह गर्नुभएको हो । सचिव मरासिनीले दक्षिण एसियालाई उदयीमान आर्थिक विकासको क्षेत्र बनाउन सामूहिक प्रयासको खाँचो औंल्याउँदै अन्तरक्षेत्रीय व्यावपार अभिवृद्धिका लागि कनेक्टिभिटी, नवप्रवर्तन र डिजिटलाइजेसनमा जोड दिइनुपर्ने बताउनु भयो । कोभिड–१९ महामारीपछि नेपाली अर्थतन्त्रमा विश्वव्यापी आर्थिक चुनौतीको प्रभाव परेको बताउदै उहाँले पछिल्ला दिनमा राजस्व घाटा र बढ्दो ऋण दायित्वका कारण आर्थिक गतिविधिहरूमा संकुचन प्रदा हुनुले अन्य धेरैजस्तै नेपालले पनि सुस्त आर्थिक वृद्धि र आर्थिक शिथिलताको सामना गरिरहेको बताउनु भयो । सचिब मरासिनीले नेपालले राजनीतिक स्थायित्वसँगै आर्थिक वृद्धि र समृद्धिका लागि प्रयास गरिरहेको भन्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाउनु भयो । नेपालमा लगानी अनुकूल वातावरण निर्माणका लागि केही समयअघि काठमाडौंमा तेस्रो लगानी सम्मेलन आयोजना गरिएको जानकारी दिँदै उनले पर्यटन, जलविद्युत र सूचना प्रविधिजस्ता तुलनात्मक लाभका क्षेत्रहरूमा लगानी आउने वातावरण बनाउन एडीबीले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने विश्वास आफूहरुले गरेको बताउनु भयो ।।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.