अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अमेरिकामा चिनियाँ कारको आयातमा स्थायी रूपमा प्रतिबन्ध लगाउन आग्रह गरिएको छ ।
सिनेट बैंकिङ कमिटीका अध्यक्ष सिनेटर शेरोड ब्राउनले चिनियाँ विद्युतीय गाडीहरू अमेरिकी गाडी उद्योग तथा व्यवसाय टिकाउनका लागि खतरा रहेको भन्दै चिनियाँ कारको आयातमा प्रतिबन्ध लगाउनुपर्ने बताउनुभएको हो । यसअघि अमेरिकामा चिनियाँ विद्युतीय कार आयात कम गर्न कर बढाउने सुझाव मात्र आएकामा उहाँको टिप्पणीलाई अहिलेसम्म यस विषयमा आएको सबैभन्दा बलियो अभिव्यक्ति भएको मानिएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका अनुसार गएको फेब्रुअरीदेखि अमेरिकाले चिनियाँ कारहरूले राष्ट्रिय सुरक्षा जोखिममा पारेको विषयमा अनुसन्धान गरिरहेको छ । सिनेटर ब्राउनले चीनलाई उसको सरकारको समर्थनमा अमेरिकी अटो उद्योगमा व्यवसाय विस्तारका लागि अनुमति दिन नसकिने बताउनुभएको खबरमा उल्लेख छ ।