भारत उत्तर प्रदेशको कासगञ्ज जिल्लामा तीर्थयात्री बोकेको ट्र्याक्टर पोखरीमा खस्दा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा धेरै घाइते भएका छन् ।
उत्तर प्रदेशको जयथारा गाउँबाट गङ्गा नदीमा स्नान गर्न जाने तीर्थयात्री बोकेको ट्र्याक्टर गढाई गाउँ नजिकै पोखरीमा खसेको इन्डियन एक्सप्रेसले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो महिला र बालबालिका रहेका खबरमा उल्लेख छ ।
घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको र पोखरीमा फसेकाहरूलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । केहीको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने प्रहरीको भनाई छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ज्यान गुमाएकाका परिवारलाई दुई लाख र घाइतेहरूलाई ५० हजार भारु राहत दिने घोषणा गर्नुभएको छ ।