नेपाली चेलीलाई गैरकानुनी बाटो हुँदै कुवेत पु¥याउने गिरोह सकृय

Everest Fuji News २०८० मंसिर २४ मा प्रकाशित       Published at 2023 Dec 10


काठमाडौं /

वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी एक नेपाली महिलालाई श्रीलंकाकी महिला एजेन्टले बन्धक बनाएको पाइएको छ । करिब ७ महिलाअघि गैरकानुनी बाटो हुँदै कुवेत पुगेकी गंगा गिरीलाई एक महिनादेखि बन्धक बनाएको तथ्य बाहिरिएको हो । नेपालबाट उनकै आफन्त नाता पर्ने एजेन्ट रामबहादुर नेगीमार्फत कुवेत पुगेकी गिरी एक महिनादेखि बिरामी अवस्थामा रहेकी छन् ।

६ महिना जति कुवेती नागरिकको घरमा काम गरेपछि बिरामी परेकी उनले आफूलाई नेपाल फर्काउन एजेन्टलाई भने पनि एजेन्ट नै सम्पर्कविहीन भएको गुनासो गरिन् ।

‘म यहाँ आएको सात महिना भयो, ६ महिनासम्म कुवेती नागरिकको घरमा काम गरें, पछिल्लो समय बिरामी भएर स्वदेश फर्किन खोज्दा यहाँको एजेन्टले तिमीलाई ४ लाखमा किनेको हो, यो पैसा दिए तुरुन्तै टिकट काटेर पठाइदिन्छु भन्छ,’ शनिबार राति राजधानीको सम्पर्कमा आएकी उनले रुँदै भनिन्, ‘त्यत्रो पैसा मैले कहाँबाट ल्याउनु ? नेपालमा रहेको एजेन्टलाई सम्पर्क गर्दा हुन्छ, हुन्छ भन्थ्यो, अहिले त सम्पर्कविहीन नै भयो, मेरो घरमा नानी पनि बिरामी छ, मलाई यहाँबाट छिटो ननिकाले पासो लगाएर आत्महत्या गर्नुबाहेक अरू कुनै विकल्प छैन ।’

उनले आफूलाई उद्धार गर्न आग्रह गर्दै लागेको ऋण नेपाल आएपछि तिर्ने पनि बताइन् । ‘मलाई जसरी भए पनि उद्धार गर्नुहोस्, बरु म नेपाल आएर खेतबारी बेचेर भए पनि पैसा तिर्छु, यहाँ मलाई शारीरिक तथा मानसिक यातना पनि दिइएको छ, मसँग अरू पनि साथीहरू छन्, उनीहरूलाई पनि एजेन्टले कुट्ने गरेको छ,’ उनले भनिन् ।

नातामा ज्वाईं पर्ने ओमप्रकाश श्रेष्ठलाई आफ्नो समस्या सुनाएपछि श्रेष्ठले पहल गरेको तर कुनै नतिजा आउन नसकेको उनले सुनाइन् । श्रेष्ठसँगको सम्पर्कमा एजेन्टले साता, १० दिनमा उद्धार गरेर नेपाल फर्काउँछु भनेको तर एजेन्ट नै सम्पर्कविहीन भएकाले आफू तनावमा रहेको उनले सुनाइन् ।

एजेन्ट भनिएका नेगीले अहिलेसम्म सयौं नेपाली चेलीलाई गैरकानुनी बाटो हुँदै कुवेत पु¥याउने गरेको पीडितले बताउने गरेका छन् ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.