नेपाल–भारत छुट्याउने ९१–१ पिपी–५५ नम्बरको पिल्लरको रङरोगन गरेर मर्मत सुरु

Everest Fuji News २०८० मंसिर १९ मा प्रकाशित       Published at 2023 Dec 05



झापा/

नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत सुरु भएको छ ।   मेचीनगर– ७ मा रहेको नेपाल–भारत छुट्याउने ९१–१ पिपी–५५ नम्बरको पिल्लरको रङरोगन गरेर मर्मत सुरु भएको छ।

कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा सीमास्तम्भ मर्मत सुरु भएको हो । १९ साउन ०७७ मा सरकारले सीमास्तम्भ मर्मत गर्ने जिम्मा सशस्त्र प्रहरीलाई दिएको थियो । सरकारको निार्णयअनुसार सोमबारबाट कोशी प्रदेशका तीन जिल्लामा रहेका सीमास्तम्भ मर्मतको काम सशस्त्र प्रहरी बलले सुरु गरेको सशस्त्र प्रहरीको नम्बर १ बाहिनीले जनाएको छ ।

झापाको मेचीनगर– ७ मा रहेको नेपाल–भारत छुट्याउने ९१–१ पिपी–५५ नम्बरको पिल्लरको रङरोगन गरेर मर्मत सुरु गरिएको बाहिनीका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजितले जानकारी दिए । सीमास्तम्भमा सशस्त्र प्रहरी बल नम्बर १ बाहिनी कोशीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेल, प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला, भारतीय सीमा सुरक्षा बलका अधिकृतहरूले रङरोगन गरेर अभियान सुरु गरेका थिए ।

कोशी प्रदेशको अन्तर्राष्ट्रिय सीमामा रहेका ४८४ वटा सीमास्तम्भ मर्मत–सम्भार गर्न लागिएको उनले जानकारी दिए । मर्मत गर्नुपर्ने सीमास्तम्भमध्ये झापामा ३१७, मोरङमा ३४ र सुनसरीमा १३३ वटा सीमास्तम्भ मर्मत गरिने उनले जानकारी दिए । जसअनुसार १९९ वटामा रङरोगन, २२१ वटा सीमास्तम्भको सामान्य मर्मत, ५९ वटा सीमास्तम्भको मध्यमस्तरको मर्मत र पाँचवटाको पूर्ण मर्मत गरिने प्रवक्ता कर्णजितले जानकारी दिए ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.