बीबीसी/
इजरायल र हमासबीच सात दिने अस्थायी युद्धविराम केही घण्टामा सकिँदै छ। तीन पटक थप गरेर लम्ब्याइएको युद्धविराम अझै विस्तार हुनेमा भने स्पष्ट नभएको बीबीसीले जनाएको छ।
शुरुमा चार दिनका लागि गरिएको युद्धविराम लम्ब्याएर सात दिन पुर्याइएको हो। यद्यपि युद्धविरामको अवधि थप लम्ब्याउन अन्तर्राष्ट्रिय मध्यस्थता भने जारी छ । विशेषगरी कतार र इजिप्टले युद्धविरामका लागि मध्यस्थता गरिरहेका छन्।
यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलको भ्रमणपछि इजरायललाई गाजामा नागरिकको जीवनरक्षा गर्न थप प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। युद्धविराम थपिएको एक दिन अर्थात् सातौ दिन हमासले थप आठ बन्धक रिहा गरेको छ, जसमा बुधबार छाडिएको दुई जनालाई पनि यसैमा गन्ती गरिएको छ । यता इजरायलले ३० प्यालेष्टिनी बन्दीलाई रिहा गरेको छ।
युद्धविरामकै बिच इजरायलको पश्चिम जेरुसेलमको एउटा बस स्टेसनमा दुई प्यालेस्टाइनी बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको मृत्यु भएको छ । घटनामा कयौं मानिस घाइते भएको भनिए पनि संख्या यकिन गरिएको छैन। आक्रमणकारी इजरायली सेनाको कारबाहीमा मारिएका छन्।