इजरायलले गाजामा अस्थायी युद्धविराम गर्न सहमत भएको अमेरिकाले जनाएको छ। युद्धविराम दैनिक चार घण्टामा सीमित हुनेछ।
ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीका अनुसार यस्तो अस्थायी युद्धविरामको घोषणा तीन घण्टा अगावै गरिने छ। उनले भने, 'हामीलाई इजरायलले युद्धविरामको अवधिमा यी क्षेत्रमा कुनै पनि सैन्य गतिविधि नहुने बताएको छ।'
यसअघि इजरायली सेनाले यी अल्पकालीन युद्ध विरामहरूलाई पूर्ण युद्धविरामको रूपमा बुझ्ने गल्ती गर्न नहुने बताएको छ।
इजरायलले उत्तरी गाजाबाट सर्वसाधारणलाई दक्षिणी गाजातर्फ भाग्न दिन सहमत भएको अमेरिकाले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाका मानिसहरूलाई बाहिर निस्कनलाई दिइएको यो विरामको प्रसंसा गरेका छन्।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीका अनुसार अमेरिकाले इजरायलसँग यस्तो सैन्य विरामको अवधि लम्ब्याउन वार्ता जारी राख्नेछ। गाजामा बन्धकहरूलाई मुक्त गर्न सुरक्षित मार्ग सुनिश्चित गर्न लामो सैन्य विराम आवश्यक पर्ने उनले बताएका छन्।
गाजामा रहेका करिब २४० इजरायली बन्धकहरूलाई रिहा गर्ने विषयमा केही सातादेखि वार्ता चलिरहेको र उनीहरूलाई रिहा गर्न कस्तो सम्झौता गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।