काठमाण्डौ /
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी काठमाण्डौबाट फर्कनुभएको छ ।
उहाँलाई उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गर्नुभयो । त्यस अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
भ्रमणका क्रममा महासचिव गुटेरेस सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रका साथै पोखरा र लुम्बिनीसमेत जानुभएको थियो । उहाँले ऐतिहासिक एवम् पुरातात्विक महत्वको सम्पदास्थल ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुभएको थियो । भम्रणका दौरान उहाँले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको थियो ।