पोखरा ।
नेपालको औपचारिक भ्रमणका क्रममा सोमबार पोखरा पुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ प्रस्थान गरेका छन्। उनी आज बिहान नेपाली सेनाको होलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन्।
अन्नपूर्ण आधार शिविरमा पुगी उनले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर, हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग संवाद गर्ने जनाइएको छ। महासचिव गुटेरेसको स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको छोम्रोङ पर्यटन समितिका सचिव दिलीप गुरुङले जानकारी दिए।
पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने गन्तव्य हो अन्नपूर्ण आधार शिविर। हिमाल आरोहणका क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालका परिधिमा गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रा मार्गमध्येमा पर्दछ। अन्नपूर्ण आधार शिविरमा विशेषगरी युरोप, अमेरिकाका साथै मलेसिया, चीन, कोरियालगायतका देशका नागरिक बढीमात्रामा आउने गरेका छन्।
धार्मिक एवं सांस्कृतिकरूपले महत्वपूर्ण मानिने अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्ने बुद्धशिला, पुजनीय बराह र यहाँबाट देखिने एक सय आठ धारासहितका धार्मिकस्थलले पनि यहाँको महिमा र गरिमा अझै बढाएको छ।