काठमाडौं /
प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलविरुद्ध भीषण आक्रमण गरेपछि शनिबार बिहानैदेखि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ भएको छ। सुरुमा हमासले इजरायलमाथि सयौं रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको थियो। इजरायलमा रहेका नेपाली विद्यार्थी विपिन सुवेदीले आफूहरु निकै आत्तिएको बताउँदै सरकारलाई सहयोग गर्न अनुरोध गरेका छन्। उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आफूहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरणको अनुरोध गरेका हुन्।
उनले आफूहरु त्रासमा लुकेर बसेको र त्रासले नै मर्ने स्थिति आएको बताएका छन्। 'राज्यले 'के भएको छ?' भनेर सोध्दा जतिबेलै घाइतेकै स्थिति बताउन विवश छौँ हामी । तर जो हामी छौँ , त्रासमा लुकेर बसेका, यहीं त्रासले नै मर्ने स्थितिमा पुगिसक्यौं। बचाउने काम गरीदिनुस् ', फेसबुकमा लेखेका छन्।
उनले अहिलै सबैलाई नेपाल फर्काउन नसके पनि सुरक्षित ठाउँमा सारिदिन नेपाल सरकारसमक्ष आग्रह गरेका छन्। उनले भने, 'हामीले सबैलाई अहिल्यै नेपाल भनेका छैनौं तर सकेको जति सुरक्षित ठाउँमा सबैजना बस्न पाइयोस् । पहल गरिदिनु । मन आत्तिएर भक्कानिन थाल्यो, आँखा सुक्न थाले । बिन्ती छ सरकार सुनिदिनु पर्यो ।'
त्यस्तै विपिनले शनिबार साँझ पनि सामाजिक सञ्जालमार्फत् आफूहरुलाई सहयोग गर्न अपील गरेका थिए।