क्यानडाले भारतका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ । यसमा उसले आफ्ना नागरिकलाई ‘अत्यन्त सतर्क’ रहन भनेको छ ।क्यानेडेली सरकारले आफ्ना नागरिकलाई ‘अभूतपूर्व सुरक्षा अवस्थाका कारण’ केन्द्र शासित प्रदेश जम्मू–कश्मीरको यात्रा नगर्न आग्रह गरेको छ ।मङ्गलवार जारी गरिएको यो एड्भाइजरीमा भनिएको छ, ‘ जम्मू कश्मीरमा आतङ्कवाद, अतिवाद, अशान्ति र अपहरणको खतरा छ । यसमा लद्दाखको यात्रा समावेश छैन ।’यसका साथै भारतको उत्तर–पूर्वी क्षेत्रका केही क्षेत्रमा नजान पनि नागरिकलाई आग्रह गरिएको छ । पाकिस्तानसँग सीमा जोडिएको गुजरात, पन्जाब र राजस्थानका क्षेत्रमा नजान पनि आग्रह गरिएको छ ।
क्यानडाको यो नयाँ ट्राभल एड्भाइजरी दुई देशबीच तनाव बढिरहेको बेला जारी गरिएको हो ।
सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आशङ्का व्यक्त गरे । यसका साथै, क्यानडा सरकारले एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको थियो ।