दोहा ,
साउदीले गैरकानुनी कामदारमाथि धरपकड तीव्र पारेसँगै थप १५ हजार ८ सय १२ जना आप्रवासी नागरिक पक्राउ परेका छन् । एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार ८ सय १२ जना कामदार पक्राउ परेका हुन् ।
साउदीको गृह मन्त्रालयका अनुसार ७ देखि १३ सेप्टेम्बरसम्म एक साताको अवधिमा सुरक्षा बलका विभिन्न इकाइले राज्यभर गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लंघन गर्ने ९ हजार ८ सय १, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ३ हजार ८ सय ४ र श्रम कानुन उल्लंघन गर्ने २ हजार २ सय ७ रहेका छन् ।
राज्यमा सीमा पार गर्न खोज्दा ८ सय २७ जना व्यक्ति पक्राउ परेका थिए । जसमा ६१ प्रतिशत यमनी, १८ प्रतिशत इथियोपियाली र २१ प्रतिशत अन्य राष्ट्रियताका थिए भने ४५ उल्लंघनकारीहरू साउदी अरेबियाबाट बाहिर जानका लागि सीमा पार गर्न खोज्दा पक्राउ परेका थिए ।
यीमध्ये कानुन उल्लंघन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने १५ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको मन्त्रालयलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ । यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पु¥याएर देश निकाला गरिने साउदी मन्त्रालयले जनाएको छ ।
घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिमानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धरपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको छ । पक्राउ परेकालाई जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरिएको छ ।