कामदारलाई अध्यागमन विभागले फिर्ता पठाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण

Everest Fuji News २०८० श्रावण ३ मा प्रकाशित       Published at 2023 Jul 19


श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान लागेका कामदारलाई अध्यागमन विभागले फिर्ता पठाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संस्थागत श्रम स्वीकृति लिई कुवेत र जोर्डन जान लागेका एक सय ५६ जना नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले रोक लगाउँदा उनीहरूको अधिकार उपयोगमा प्रभाव परेको भन्दै आयोगले ध्यानाकर्षण भएको जनाएको छ । उनीहरूले श्रम स्वीकृति लिएको कागजात पेस गर्दा पनि कागजात शङ्कास्पद रहेको भन्दै अध्यामगनले फिर्ता पठाउन उचित नहुने आयोगले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । श्रमिकको समस्या समाधान गर्नुको साटो जिम्मेवार सरकारी निकायहरू नै सार्वजनिकरूपमै आरोप–प्रत्यारोपमा लागेकोमा पनि आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तै श्रम प्रशासन र अध्यागमन प्रशासनबीच समन्वय, सहकार्य, सूचनाको आदान–प्रदान र विश्वसनीयताको अभावका कारण उनीहरूको आवतजात र रोजगारीको हक उल्लङ्घन हुन गएको आयोगको प्रारम्भिक अनुगमनबाट देखिएको छ । सेवा प्रवाह एवम् यस्ता विषयहरूमा गम्भीर हुन आयोगले सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छ । वैदेशिक रोजगारीमा जाने क्रममा अध्यागमन कार्यालयबाट रोक लगाई फर्काइएका कामदारको आर्थिक क्षतिको आङ्कलन गरी क्षतिपूर्तिको व्यवस्था गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।

यस्तै नेपाली नागरिकलाई विमानस्थलबाट फर्काउने काममा संलग्न अधिकारीहरूलाई जिम्मेवार बनाउन र आयोगले विगतमा गरेका सिफारिसहरूको कार्यान्वयनका लागि पनि स्मरण गराएको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.