वैदेशिक रोजगारीमा जाने श्रमिकलाई शंकाकै भरमा फर्काउने क्रम बढ्दै गएको भन्दै मेनपावर व्यवसायीको असन्तुष्टि

Everest Fuji News २०८० असार २८ मा प्रकाशित       Published at 2023 Jul 13


वैदेशिक रोजगारीमा जाने श्रमिकलाई शंकाकै भरमा फर्काउने क्रम बढ्दै गएको भन्दै मेनपावर व्यवसायीले असन्तुष्टि पोखेका छन् ।

अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शंकाकै भरमा श्रमिकलाई फर्काउन थालेको उनीहरुको आरोप छ ।

वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने कागजात पेस गर्दा पनि अध्यागमन अधिकृतको ‘मुड’को भरमा उनीहरूलाई फर्काउन थालिएको व्यवसायी बताउँछन् ।

गएराति पौने ११ बजे सलाम एयरबाट वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका १०१ जना नेपाली श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले एकसाथ फर्काएको हो । त्यस्तै बिहीबार बिहान ६ बजे कुवेत एयरबाट जान लागेका १६ जनालाई समेत फर्काइएको छ ।

इन्डेक्स म्यानपावरबाट ४७ जना, युथ म्यानपावरबाट ३२ जना, निलकलम एचआरबाट २४ जना, सुलभ म्यानपावरमार्फत ४ जना कुवेत जान लागेका थिए । उनीहरू सबैले कुवेतको भिसा लगाएर श्रम स्वीकृति पाएका थिए ।

वर्किङ भिसा, टिकट, श्रम स्वीकृति लगायतका कागजात हुँदा हुँदै पनि अनुसन्धान अधिकृतले शंका लागेको कारण देखाउँदै धमाधम फर्काउन थालेको व्यवसायीको भनाइ छ । अध्यागमन कार्यालयले भने वैदेशिक रोजगारीका लागि जान लागेका उनीहरूको कागजात शंकास्पद भन्दै रोकेको जनाएको छ ।

यसअघि गत आइतबार जोर्डन जान लागेका १५ जनालाई पनि अध्यागमन कार्यालयले रोकेको थियो । पछि उनीहरूले पेस गरेका कागजात सही रहेको पाइएपछि उडेका थिए । कम्पनीले नै टिकटको व्यवस्था मिलाएर लैजाने गरेको भए पनि अध्यागमनले रोक्दा अनावश्यक टिकट खर्चको भार बढ्ने व्यवसायीको गुनासो छ । त्यसरी उनीहरूलाई फर्काउँदा मेनपावर व्यवसायीले फेरि पठाउन ९ लाखभन्दा बढी रूपैयाँ खर्च गरेर टिकट काटेको बताइन्छ 




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.