असोज-११,टोकियो।पूर्व उपप्रधान एवम् परराष्ट्रमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको सम्मानमा जापान स्थित नेपाली राजदुतावासले बिभिन्न पेशाकर्मी नेपाली तथा जापानीहरुका बिच स्वागत तथा रात्रीकालीन भोजको आयोजना गरी सम्पन्न भएको छ । जापानको भ्रमणको शिलशिलामा आउनु भएका मन्त्री थापाले जापानमा रहेका नेपालीहरुको संख्यामा मात्र नभएर गुणात्मकरुपले पनि बृद्धि भएको बताएका छन् । पछिल्लो समयमा जापानमा ब्यवसायिकरुपले प्रगति गरेका नेपालीहरुको संख्यामा उल्लेख्य बृद्धि भएको बताउँदै नेता थापाले ब्यवसायिक प्रगतिका कारण उनीहरुको आर्थिक हैसियत उकासिएसंगै मुलुकको अर्थतन्त्रमा पनि प्रत्यक्ष सहयोग पुगिरहेको धारणा ब्यक्त गरे । पूर्व उपप्रधान एवं परराष्ट्रमन्त्री थापाको स्वागतमा नेपाली दूतावासद्वारा आयोजित रात्रीभोज समारोहमा बोल्दै अध्यक्ष थापाले नेपाल जापान सम्बन्धको ६० औं वर्षागांठको अवसरमा इवाते गभर्नरद्वारा आयोजित एक कार्यक्रममा भाग लिन आफु जापान आएको र कार्यक्रममा नेपाल जापान सम्बन्धका विविध आयामहरु र दुईदेशबीचको पारस्परिक हितका सम्बन्धमा छलफल भएको जानकारी दिए । सो अवसरमा नेकपा एमालेको भ्रात्तृसंगठन युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले राष्ट्रिय स्वार्थका लागि दलगत स्वार्थभन्दा माथि उठेर सबै मिलेर राष्ट्रनिर्माणमा जुट्नुपर्ने बताउँदै यदि त्यसरी जुट्ने हो भने नेपाल पनि ५, ७ वर्षमै जापानजस्तै बनाउन संभव रहेको दावी गरे । उनले राज्यले उपयुक्त वातावरणको निर्माण गरी बिदेशका युवाहरुलाई स्वदेश फर्कन आह्वान गरिनुपर्ने बिचार ब्यक्त गरे । यसअघि जापानका लागि कार्यबाहक राजदूत कृष्णचन्द्र अर्यालले पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको स्वागत गर्दै उनले नेपालको परराष्ट्र मन्त्रालयमा राजनैतिक हस्तक्षेप हुन नदिने सँस्कार बसाल्न तत्कालिन परराष्ट्रमन्त्रीहरु कमल थापा, उपेन्द्र यादव र नारायणकाजी श्रेष्ठको योगदान स्मरणीय रहेको बताए । कार्यबाहक राजदूत अर्यालले परराष्ट्र नीतिलाई सबल, सक्षम र प्रभावकारी बनाउन राजनीतिक हस्तक्षेप हुन नहुने बिचार ब्यक्त गरे । सो अवसरमा जापानका बिभिन्न संघसंस्थाका प्रतिनिधी, ब्यवसायी, प्राज्ञिक वर्ग, एनआरएन अभियन्ता, पत्रकार, नेपाललाई माया गर्ने बिभिन्न क्षेत्रका जापानी नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो । राप्रपा नेपालका अध्यक्ष थापा बिहिबार स्वदेश प्रस्थान गर्दैछन् ।***