नेपालको विकासमा जापानको महत्वपूर्ण योगदान: कमल थापा
Everest Fuji News२०७३ आश्विन १२ मा प्रकाशितPublished at 2016 Sep 28
इवाते , जापान।
राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधान तथा परराष्टमन्त्री कमल थापाले जापानका लागानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आव्हान गर्नुभएको छ । उहाँले भन्नुभयो अहिले नेपाल सुरक्षित छ, तपाईहरु ढुक्क भएर लगानी गर्न सक्नु हुन्छ । जापानको इवाते प्रिफेक्चरका गर्भनर ताकुया तासुको निमन्त्रणमा गत शनिवार जापान आउनु भएका थापाले नेपाल जापान कुटनितिक सम्बन्धको ६० औ बर्ष पुरा भएको अवसरमा आयोजित विशेष कार्यक्रमलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने क्रममा उहाँले उक्त विचार राख्नु भएको हो । थापाले आफ्नो सम्बोधनको क्रममा विशेषगरी गत बर्ष नेपालमा गएको महाभुकम्प, त्यसको प्रभाव र त्यसपछि पुर्ननिर्माणको अवस्था, देशको वर्तमान राजनीतिक परिस्थिति तथा नेपाल जापान मैत्री सम्बन्धको बिषयमा प्रकाश पार्नु भएको थियो । महाभुकम्पपछि जापानले तत्काल नेपाललाई गरको भौतिक तथा आर्थिक सहयोगको चर्चा गर्दै उहाँले नेपालको आर्थिक विकास बर्षौ देखि जापानको महत्वपूर्ण भूमिका रहको उल्लेख गर्नुभयो ।
जापानले महाभुकम्प पछि नेपाललाई पुर्याएको योगदान प्रति कृतज्ञता प्रकट गर्दै जापान सरकार र सम्पूर्ण जापानीजहरुलाई धन्यवाद दिनुभएको थियो । उहाँले सदियौं देखि नेपाल जापानबीच प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै आफ्नो भम्रणले दुई देशबीचको आपसी सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास गर्नुभयो । उहाँले जापनमा पनि विभिन्न समयमा भुकम्प र सुनामीका कारण भएको प्राकृतिक क्षति प्रति आफूहरु पनि उक्तिकै चिन्तित रहेको बताउदै त्यो प्रभावित क्षेत्रमा पुगेर पुर्न निर्माण र विकासलाई हेर्ने र सिक्ने मौका यो भम्रणमा पाएको जानकारी दिनु भयो । उहाँले प्राकृतिक क्षतिपछि जापानले जति छिटो पुर्न निर्माण गर्न सफल हुन्छ त्यसरी हामीले नसके पनि विस्तारै पुर्ननिर्माणको कार्य अगाडी बढेको जनाउनु भयो । कार्यक्रममा जापानीज व्यवसायी, विशिष्ट व्यक्तित्व तथा जापानीज नागरिकहरुको उत्साहजनक सहभागीता रहेको थियो । सोहि कार्यक्रममा सहभागी नेपाली तथा जापानीज विद्यार्थीहरुले राखेका विभिन्न जिज्ञासाहरुलाई पनि प्रमुख अतिथि थापाले सम्बोधन गर्नुभएको थियो । यसअघि थापाले इवाते गर्भनर ताकुया तासो र इवाते इन्टरनेशनलका अध्यक्ष केनिचि हिरामायासँग शिष्टाचार भेट गर्नुभएको थियो । भेटमा उनिहरुले नेपाललाई हर प्रकारको सहयोग गर्न आफूहरु तत्पर रहेको जनाएका थिए ।
यसअघि उहाँले गत आईतबार जापानमा सक्रिय राप्रपा नेपालको भातृ संस्था प्रवासी नेपाली संगठन (ओनो) जापानको छैठौं अधिवेशनलाई प्रमुख अतिथिको रुपमा टोकियोमा सम्बोधन गर्नु भएको थियो । सो अवसरमा उहाँले नेपालको आर्थिक विकासको लागि प्रवासमा रहेका ५० लाख भन्दा बढि नेपालीहरुको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आफूले सिकेको सिपलाई नेपालमा भित्र्याउन र देश निर्माणमा हातेमालो गर्न अपिल गर्नु भएको थियो । उहाँले विदेशमा बस्ने नेपालीहरुले अझ बढि नेपालको राजनीतिक अवस्था र देशप्रति चासो र चिन्ता राखेको आफूले महशुस गरेको उल्लेख गर्नुभयो । प्रवासी नेपालीहरुको उत्साहजनक सहभागीता रहेको सो कार्यक्रममा थापाले राप्रपा नेपालले आफ्ना मुख्य एजेण्डाहरु हिन्दुराष्ट र संवैधानिक राजतन्त्रको बिषयमा पार्टी पछि नहट्ने अडान राख्नुभयो । उहाँले कुनै पनि देशको धर्म संस्कृति, इतिहास र धरोहरहरुको नष्ट गरेर राष्ट कहिल्यै समृद्ध नहुने बताउनु भयो । थापासँगै राप्रपा नेपाल महिला संगठन सल्लाहकार प्रलीता थापा, केन्द्रिय सदस्यद्धय प्रेम कुमार श्रेष्ठ, राजाराम बर्तौला र प्रवास विभाग प्रमुख विजय खड्का सहितको टिम जापान आएको थियो ।
ओनो जापानका अध्यक्ष रघुदिप खड्काको सभापतित्वमा सम्पन्न सो अधिवेशनले चन्द्र उपाध्यायको अध्यक्षतामा २३ सदस्यिय कार्यसमिति निर्वाचित गरेको छ । ५ दिने जापान भम्रण र भेटघाट पछि सो टोली शुक्रबार नेपाल फिर्ता हुने कार्यक्रम छ।
सौजन्य: विरेन्द्र पौडेल