परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बेलायती सेनामा कार्यरत ब्रिटिस गोरखा सैनिकको सेवा सुविधा बेलायती नागरिकसरह हुनुपर्नेमा जोड दिएका छन् ।
ब्रिटिस गोरखा सत्याग्रह संघर्ष समितिसँगको मंगलबारको भेटमा महतले उक्त विषयमा बेलायत सरकारसँग आफूले कुरा गर्ने प्रतिबद्धता जनाएका छन् । बेलायती सेनामा कार्यरत ब्रिटिस गोरखा नेपालीले पनि समानताको सिद्धान्तका आधारमा बेलायतीसरह नै सुविधा, पेन्सन, औषधोपचारलगायतको अधिकार पाउनुपर्ने विषयमा बेलायतसँगको द्विपक्षीय बैठकहरूमा उठाउने डा. महतले बताए ।
टोलीले ब्रिटिस गोरखा सैनिकले पाउनुपर्ने सुविधाका विषयमा बेलायत सरकारसँग तत्कालै पहल गरिदिन पनि मन्त्री महतसँग आग्रह गरेको थियो । बेलायती सेनामा कार्यरत ब्रिटिस गोरखा सैनिक र सेवा निवृत्तहरूले करिब २६ वर्षदेखि यो माग राखेर संघर्ष गर्दै आएका छन् । समस्या समाधान नभएमा आगामी नोभेम्बर ७ देखि आमरण अनशन गर्ने घोषणासमेत गरेको जानकारी टोलीले मन्त्रीलाई गराएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
‘परराष्ट्र नीति बदलिरहँदैन’
महतले सरकार परिवर्तन हुँदैमा मुलुकको परराष्ट्र नीति नफेरिने बताएका छन् । उनले जुनसुकै सरकार आए पनि परराष्ट्र नीति राष्ट्रिय स्वार्थका आधारमा अघि बढ्नुपर्ने बताए ।
नेपाल विश्व सम्बन्ध परिषदले मंगलबार ललितपुरमा आयोजना गरेको अन्तक्र्रियामा मन्त्री महतले नेपालले छिमेकीसँग बलियो र विश्वासमा आधारित सम्बन्ध विकास गर्नुपर्ने बताए । छिमेक वा विदेश सम्बन्धका लागि कुनै विशेषण दिनु आवश्यक नभएको जनाउँदै उनले सम्बन्धित देशसँगको अन्तरसम्बन्ध जति धेरै भयो त्यति नै सम्बन्ध पनि सघन हुँदै जाने बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी भदौ ३० मा थाल्ने भारत भ्रमणले नेपाल–भारत सम्बन्धमामा राजनीतिक हार्दिकता आउने उनले विश्वास व्यक्त गरे । ‘एउटै भ्रमणबाट सबैखाले मुद्दा टुंगो लाग्दैन र यसका लागि विभिन्न तहमा निरन्तर कार्य गर्नुपर्छ,’ उनले भने, ‘भ्रमणका क्रममा थप प्रस्तावमा जोड दिनुभन्दा पनि भएका आयोजना र विषयवस्तुलाई कार्यान्वयनमा लैजाने काममा सरकार लागिपरेको छ । विभिन्न एजेन्डामा काम र छलफल भइरहेको छ ।’
नेपालमा आयात र निर्यातबीचका खाडल निकै ठूलो भइसकेको जनाउँदै परराष्ट्रमन्त्री महतले प्रधानमन्त्रीको भ्रमणले लगानीका बाटा तथा व्यापार प्रवद्र्धनका उपाय खोज्ने बताए । ‘लक्ष्य तोकेर मात्र हुँदैन, त्यसमा पुग्ने प्रक्रिया र तरिका ठीक छन् भनेमात्र नतिजा राम्रो निस्किन्छ,’ उनले भने, ‘प्रधानमन्त्रीको आसन्न भारत भ्रमणले विश्वासको सम्बन्ध विकसित हुनेमा म विश्वस्त छु ।’ आफू परराष्ट्रमन्त्री भएपछि लाखौं नेपाली कामदार रहेका मलेसिया, इजरायल, खाडी क्षेत्रका कामदारको सुरक्षा र हितलाई प्राथमिकतामा राखेको पनि उनले बताए । त्यसअघि मंगलबार नै उनले बसुन्धरा मान प्रज्ञाप्रतिष्ठानको बसुन्धराश्री तथा मानश्री पुरस्कार समर्पण कार्यक्रममा नेपाली भाषा, साहित्य, कलाकारिता, संस्कृतिको प्रवद्र्धनले मुलुकको परारष्ट्र मामिलालाई बलियो बनाउने बताएका थिए । यसले राष्ट्रिय एकतालाई जोड्नेसमेत उनको धारणा थियो ।