अमेरिकाकी यी ‘कान्छी सांसद’ जसले ट्रम्पलाई पनि हायलकायल पार्छिन्
Everest Fuji News२०७५ माघ १ मा प्रकाशितPublished at 2019 Jan 15
वाशिङटन । अमेरिकामा अहिले एक जना सांसद निकै चर्चामा छन् । उनलाई सञ्चार माध्यममा कुरा गर्न भ्याइ नभ्याइ छ । उनी खासगरी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचनाले मात्रै चर्चित भएकी होइनन् । उनी अमेरिकाको संघीय संसदमा इतिहासकै सबैभन्दा कान्छी सांसद रहेका कारण पनि ‘सेलिब्रेटी’ भएकी छन् ।
उनी हुन्–अलेक्जेण्ड्रिया ओकासियो कोर्टेज (न्यूयोर्क को डीबाट निर्वाचित सांसद) । सन् १९८९ को १३ अक्टोबरमा सामान्य परिवारमा जन्मेकी उनी अहिले २९ वर्षकी भइन् । अमेरिकी संविधानमा २५ वर्ष भन्दा मुनिकालाई तल्लो सदनमा जान बन्देज छ भने माथिल्लो सदनमा जान ३० वर्षको हुनुपर्छ ।
संघीय संसदमा जानुभन्दा अघि धेरै राजनीतिज्ञहरुले स्थानीय र राज्य तहमा काम गर्ने चलन अमेरिकामा रहेको छ । पछिल्लो ११६ औं संसदमा सबैभन्दा कम उमेरकी सांसदको रुपमा अलेक्जेण्ड्रिया चर्चित भएकी हुन् ।
उनी २०१९ को जनवरी ३ बाट सांसदको रुपमा कार्यरत छन् । न्यूयोर्कको १४ औं कंग्रेसनल डिस्ट्रिक्टबाट उनी निर्वाचित भएकी हुन् । उनले सन् २०१८ को जुन २६ मा डेमोक्रेटिक पार्टीको प्राइमरीतर्फ चुनाव जितिन् । उनले आफ्नो पार्टीका ठूलै नेता जो क्राउलीलाई हराएपछि त्यतिबेलैपनि निकै चर्चामा आइन् ।
उनका बाबु न्यूयोर्कको ब्रोन्क्समा जन्मेका हुन् । आमा भने प्यूर्टोरिकोमा जन्मेकी हुन् । प्युर्टोरिको लामो समय स्पेनको अधिनमा रहेको र अहिले अमेरिका नियन्त्रित टापू हो । ५ वर्षको उमेरसम्म उनको परिवार पार्कचेस्टरको छिमेकमा एउटा अपार्टमेन्टमा बस्थ्यो । पछि उनीहरु योर्कटाउन हाइट्समा सरेका हुन् । उनी योर्कटाउन हाइस्कूलमै पढिन् । २००७ मा स्नातक गरिन् । उनले सोही वर्ष इन्टेल इन्टरनेसनल साइन्स इन्जिनियरिङ फेयरमा दोस्रो पुरस्कार जितेकी थिइन् ।
सन् २००८ मा बोस्टन युनिभर्सिटीमा पढ्दै गर्दा उनका पिताको फोक्सोको क्यान्सरबाट निधन भयो । कलेजमा भएको बेलामा उनी अध्यागमन कार्यालयमा इन्टर्नको रुपमा अमेरिकी सिनेटर टेड केनेडीलाई सघाउँथिन् । उनले सोही युनिभर्सिटीबाट पनि अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थशास्त्रमा स्नातकसम्मको पढाइ सन् २०११ मा पूरा गरिन् । उनको पिताको मृत्युपछि उनैले घर धानेकी थिइन् । उनी केही समय वेट्रेसको रुपमा समेत काम गरिन् । उनकी आमा घर सफा गर्ने र स्कुल बस पुछ्ने काम गर्थिन् ।
उनले ब्रुक एभिन्यूज प्रेस समेत खोलिन् । त्यसले उनको जन्मस्थान ब्रोन्क्सको बारेमा राम्रो प्रचार गरिएका सामग्री छाप्थ्यो । सन् २०१६मा उनले डेमोक्र्याट नेता बर्नी स्यान्डर्सको राष्ट्रपतीय अभियानमा साथ दिइन् । उनी हिलारी क्लिन्टनसँग प्राइमरी चरणमा हारेका थिए ।
त्यो निर्वाचन सकिएपछि उनले कारमा पुरै अमेरिकाको भ्रमण गरिन् । उनले अमेरिकीहरुका समश्या बारेमा पनि बुझेकी थिइन् । उनले त्यही बेला राजनीतिमा लाग्ने सोच पनि बनाइन् । उत्तरी डकोटामा आफ्नै समुदायको विकासमा मानिसहरु लागेको देखेर उनलाई पनि आफ्नो समुदायमा केही गर्ने सोच पलायो ।
चुनावको बेलामा ठूला मिडियाले उनका प्रतिद्वन्द्वी हारेकोमा ‘बिगेस्ट अपसेट’ वा ‘सकिङ’ भनेर समेत समाचार बनाए । उनले प्राइमरीमा आफ्नै पार्टीका हेभिवेटलाई मात्रै हराइनन् निर्वाचनमा रिपब्लिकनका पनि उस्तै हेभिवेटलाई हराइदिइन् । पछि त यस्तो भयो उनी जाने ठाउँमा मान्छेको भीड लाग्न थाल्यो । उनको आर्थिक अवस्था दयनीय भएको भन्ने बेहोरामा एउटा टीभी च्यानलले समाचार बनाएपछि उनी रिसाएकी थिइन् । उनी डेढ साता अघि सांसदको शपथ लिने दिन जलवायु परिवर्तन सम्बन्धी एउटा प्रदर्शनमा भाग लिएर आएकी थिइन् । जनवरी २०१९ मा उनका ट्विटर फलोअर्स २ दशमलब १६ मिलियन पुगेका छन् । नोभेम्बर २०१८ सम्म १ दशमलब ३८ मिलियन मात्रै फलोअर्स थिए । उनी आफूलाई समाजवादी भन्छिन् तर भेनेजुएला वा क्युबाको जस्तो होइन रे । बेलायत, नर्बे, फिनल्याण्ड वा स्वीडेन जस्तो भन्छिन् उनी । सबैलाई औषधोपचार, रोजगारीको ग्यारेन्टी, बन्दुक नियन्त्रण जस्ता अजेण्डा उनले चुनावमा उठाएकी थिइन् । उनले जुन २०१८ मा राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउनुपर्ने आवाज पनि उठाएकी थिइन् । अविवाहित यी अमेरिकी सांसदका अहिले हजुरबा, हजुरआमा र आमा फ्लोरिडामा रहेका छन् ।
उनी राष्ट्रपति ट्रम्पको आप्रवासी नीतिको कडा विरोध गर्छिन् । उनले गएको महिना मेक्सिकोसँगको सीमामा दुई बच्चाको मृत्यु भएको विषयलाई लिएर राष्ट्रपतिले मानवअधिकारको उल्लंघन गरेको भन्दै चर्को आलोचना गरिन् ।
५ दशमलब ७ बिलियन डलर नभएसम्म अमेरिका आंशिक बन्द भइरहने राष्ट्रपति ट्रम्पले भनाइ राख्दा ‘यो राजनीति गर्ने तरिका होइन यो त बन्धक बनाउने काम हो’ भनेर उनले राष्ट्रपतिको चर्को आलोचना गरिन् । उनलाई रिपब्लिकन नजिकका मिडियाले खेद्ने काम भने गरिरहेका छन् । कान्छी सांसद भएर मात्रै होइन राष्ट्रपति ट्रम्पका प्रखर आलोचकका रुपमा उनी अहिले अमेरिकामा छाएकी छन् ।
हालै एक रिपब्लिकन निकट मिडियामा उनी नुहाइरहेको तस्बिर भन्दै प्रकाशित गरियो । तर, उनले त्यो आफू नभएको भन्दै कडा आपत्ति जनाइन् । पछि थाहा भयो कि त्यो नुहाउने मान्छे अरु कोही थियो । उनी १० कक्षामा पढ्दा डान्स गरेको एउटा भिडियो समेत भाइरल गराइयो । केही राजनीतिज्ञले उनलाई ‘लिटिल गर्ल’ भनेर समेत टिप्पणी गर्छन् । तर, उनी ट्विटरबाटै यस्ता कुराको तत्काल प्रतिवाद गरिहाल्छिन् ।
उनी राष्ट्रपति ट्रम्पलाई जातीयतावादी भन्छिन् । अमेरिकाको समश्या भनेको अहिले राष्ट्रपति नै रहेको उनको तर्क रहने गरेको छ । अमेरिकी तल्लो सदनमा रहेका ४३५ सिटमा अहिले महिलाहरुको संख्या १०२ रहेको छ, यो निकै बढी भएको भनेर अहिले अमेरिकामा सकारात्मक चर्चा भइरहेको छ । तल्लो सदनमा ४३५ र माथिल्लो सदन सिनेटमा १०० गरेर कूल ५३५ जना सांसद अमेरिकामा हुन्छन् । (एजेन्सी)