Everest Fuji News२०७५ मंसिर १ मा प्रकाशितPublished at 2018 Nov 17
नोभेम्बर ६ गते अमेरिकामा मध्यावधि निर्वाचन भयो। त्यसको भोलिपल्ट नोभेम्बर ७ गते अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनको आयोजना गरे। करिब डेढ घण्टा चलेको उक्त पत्रकार सम्मेलन निकै तनावपूर्ण भयो।
मिडियाले आफूमाथि गरेको व्यवहार सही नभएको तर्क गर्दै आएका राष्ट्रपति ट्रम्पले विभिन्न मिडिया हाउसका रिपोर्टरहरूमाथि रिस पोखे। त्यसमध्येका एक थिए, सिएनएनको तर्फबाट ह्वाइट हाउस संवाददाता जीम अकोस्टा।
राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीको उम्मेदवार बनेदेखि नै ट्रम्प मिडियाको केन्द्रबिन्दुमा परेका थिए। राष्ट्रपतिको उम्मेदवार हुनुअघि उनका धेरै गतिविधि मिडियाको नजरमा परेनन्।
तर, राष्ट्रपति बनपछि भने त्यो अवस्था रहिरहेन। उनको बोली, विगतदेखि सबै कुरा मिडियाको प्रत्यक्ष निगरानीमा रहन पुगे। लामो समय विभिन्न खालका आर्थिक र चारित्रिक गडबडीमा सक्रिय रहे पनि सार्वजनिक पदमा नरहेकोले उनलाई मिडियाले त्यति पछ्याउने काम गरेन।
तर, राष्ट्रपति भएपछि त्यो अवस्था अन्त्य भयो र मिडियाले उनको निजी जीवनमाथि पनि कलम चलाउन सुरु गर्यो। उनको हरेक शब्दको अर्थ लगाउँदै मिडियाले उनलाई जिम्मेवार बनाउने प्रयत्न गरिरह्यो, जुन उनलाई मन परेन। ट्रम्पले आफूलाई मन नपरेको समाचारलाई झुटो समाचार भनेर आक्रमण गर्न थाले।
‘फेक न्युज’ भनेर राष्ट्रपति र उनका सहयोगीहरूको आक्रमणमा सिएनएन प्रमुख रह्यो। राष्ट्रपति र प्रेस सेक्रेटरीलाई प्रश्न सोध्नेमा ह्वाइट हाउसमा सिएनएनका संवाददाताको रूपमा जिम अकोस्टा अग्रपङ्क्तिमा रहे। अकोस्टाले डर नमानी निर्धक्कसँग ट्रम्प प्रशासनले गरेका विवादास्पद कामहरूमा प्रश्न गर्थे। त्यसकै कारण धेरै पटकसम्म राष्ट्रपति ट्रम्प र प्रेस सेक्रेटरी सारा स्याण्डर्सले अकोस्टालाइ कि त प्रश्न सोध्न नै दिएनन् कि त प्रश्नको उत्तर दिएनन्।
नोभेम्बर ७ को पत्रकार सम्मेलनमा पनि जिम अकोस्टाले राष्ट्रपतिलाई प्रश्न गरे र आलटाल उत्तर दिएपछि त्यसलाई स्पष्ट पार्न थप प्रश्न गरे। ट्रम्पले उनलाई विभिन्न तरिकाले अपमानित गर्दै माइक खोस्न पठाए। पत्रकार सम्मेलन सकियो। साँझ फेरि जिम अकोस्टा ह्वाइट हाउस छिर्न खोज्दा उनको प्रेस पास फिर्ता मागियो र भित्र छिर्न दिइएन। उनको व्यवहार राम्रो नभएका कारण उनको प्रेस पास खोसिएको जानकारी सिएनएनलाई पठाइयो।
यो समाचार आएपछि कानुनविदहरुसँगको सल्लाहमा सिएनएनले राष्ट्रपति, ह्वाइट हाउस, प्रेस सेक्रेटरी लगायतलाई प्रतिवादी बनाउँदै र जिम अकोस्टाको प्रेस पासको निलम्बन फुकुवाको माग गर्दै अदालतमा मुद्दा दायर गर्यो। उक्त मुद्दाको सुनुवाइ ट्रम्पले नै नियुक्त गरेका सङ्घीय न्यायाधीश टिमोथी केलीको हिस्सामा परेको थियो।
नोभेम्बर १४ मा दायर गरिएको मुद्दाको सुनुवाइ १५ गते गर्ने तय भएको थियो भने त्यो फेरि सरेर शुक्रबार १० बजेको समय तोकिएको थियो।
नोभेम्बर १६ शुक्रबार १० बजे भएको सुनुवाइमा न्यायाधीश टिमोथी केलीले ह्वाइट हाउसको कदम गैरकानुनी भएको निर्णय दिँदै पत्रकार जिम अकोस्टाको प्रेस पासमाथिको निलम्बन फुकुवा गरिदिएको छ। यसबारेमा पूर्ण सुनुवाइपछि हुने बताइए पनि अब अकोस्टाले ह्वाइट हाउसमा गएर रिपोर्टिङ गर्न बाटो खुलेको छ। गैरकानुनी र मनपरी गर्ने राष्ट्रपतिको कदमलाई उनैले नियुक्त गरेका न्यायाधीशले कानुनी राज्यको सबक सिकाएका छन्।
अदालतको यो निर्णय अल्पकालीन निर्णय भए पनि यसले ह्वाइट हाउसलाई मनपरी नगर्न सचेत गराउने अपेक्षा गरिएको छ। राष्ट्रपतिको यो कदमको विरुद्धमा सिएनएन लगायत मुख्य मिडिया हाउसहरूले पूर्ण समर्थन जनाएका थिए, जसमा राष्ट्रपतिको मुखपत्र मानिने फक्स न्युजसमेत सामेल थियो।
क्यालिफोर्नियामा डढेलोबाट ७१ को ज्यान गयो
अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्निया जसरी संसारभरका मानिसहरूको लागि हलिउडमार्फत परिचित छ, त्यसैगरी त्यहाँ लाग्ने डढेलोको कारण पनि यसले आफ्नो परिचय बनाएको छ।
यतिबेला क्यालिफोर्नियामा लागेका तीन वटा डढेलोका कारण अर्बौंको सम्पत्ति ध्वस्त भएको छ भने हज्जारौं घर परिवार विस्थापित भएका छन्।
इतिहासकै खतरनाक डढेलो मानिएको यो डढेलोहरूका कारण अहिलेसम्म ७१ मानिसहरूको ज्यान गएको छ।
यसलाई नियन्त्रण गर्न अप्ठेरो बनाउने काम तीव्र गतिमा चलेको हावाले गरिरहेको छ। प्याराडाइज नामक टाउन त पूरै ध्वस्त भएको छ। जसमा करिब २७००० मानिसको बसोबास रहेको छ भने ६५०० भन्दा बढी भौतिक संरचनाहरू छन्।
क्याम्प फायर, उल्से फायर र हिल फायर नामक यी तीन डढेलोहरू इतिहासकै सबभन्दा बढी क्षति पुर्याउने डढेलोहरू साबित भएका छन्। धूवाँको कारण वातावरण समेत असुरक्षित भएको छ। डढेलो नियन्त्रण भन्दा बाहिर छ। यसको विस्तार यति तीव्र छ कि लस एञ्जलस र सान डिएगो सहरहरू समेत असुरक्षित बनेका छन् र करिब दुई करोड १० लाख मानिसहरू यसको जोखिममा रहेको बताइएको छ।
यो समाचार तयार पार्दासम्म ७१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक हजार जनाभन्दा बढी हराइरहेका छन्। हज्जारौं मानिसहरू सरकारी टेन्टहरूमा अनिश्चित भविष्य कुर्दै बसिरहेका छन्। क्याम्प फायरले मात्र एक लाख बयालिस हजार एक जमिन उजाड बनाएको छ भने ६३ जनाको मृत्यु करिब १२ हजार भौतिक संरचनाहरू ध्वस्त पारेको छ। उस्ली नामक फायरले ९८ हजार एकर जमिन उजाड पारेको छ, तीन जनाको ज्यान लिएको छ भने करिब ६ सय भौतिक संरचना ध्वस्त र हज्जारौं मानिसहरुलाई घरबारविहीन तुल्याएको छ ।
फ्लोरिडाको चुनावी विवाद
फ्लोरिडा जनसङ्ख्याको हिसाबले तेस्रो ठूलो राज्य हो। हरेक चुनावमा फ्लोरिडाको नतिजा राष्ट्रिय राजनीतिमा निकै महत्त्वपूर्ण मानिन्छ। यसपालि भएको गभर्नर र सिनेटरको चुनावमा पनि त्यस्तै भयो। विशेषगरी मतान्तरको कारणले यो राज्यमा भएका धेरै चुनावहरूमा पुन: मतगणना हुने गरेको छ। सन् २००० मा जर्ज डब्लु बुस र एल गोरबीचको निर्वाचनमा निकै झिनो अन्तर देखिएपछि विवाद चुलिएको थियो। यतिबेला पनि अवस्था त्यस्तै सिर्जना भएको छ।
एकातिर डेमोक्र्याटहरूले अन्य धेरै ठाउँहरूमा विजय हासिल गरे पनि फ्लोरिडामा आशातित सफलता प्राप्त गर्न नसकेपछि ब्लु वेभ भन्ने शब्दावली अतिरंजनापूर्ण साबित भएको थियो। यसको कारण फ्लोरिडाको चुनावी नतिजा धेरैको प्रतीक्षा थियो। ८० लाखभन्दा बढी भोट गन्दा पनि उम्मेदवारहरूको अन्तर निकै झिनो देखियो। गभर्नरको पदमा रन डेसाण्टिस र एन्ड्रियु गिलमको बीचमा जम्मा ३४ हजार मतको मात्र अन्तर रहेको छ। रिपब्लिकन पार्टीका डेसाण्टिसले चालिस लाख ७५ हजार ल्याएका छन् भने डेमोक्र्याट एन्ड्रियु गिलमले चालिस लाख ४१ हजार मत ल्याएका छन्।
सिनेटको चुनावमा प्रतिस्पर्धा झन् कडा भएको छ। शून्य दशमलव ५ भन्दा कम अन्तर भएमा पुन मतगणना हुने प्रावधान अनुसार मेसिनको सहायताले भोट गनियो। तर, पुन: मतगणनामा शून्य दशमलव २.५ भन्दा कामको अन्तर परे पछि फेरि हातैले मत गणना सुरु गरिएको छ।
सिनेटको चुनावमा पछिल्लो मतगणना अनुसार रिपब्लिकन पार्टीका रिक स्कटले चालिस लाख ९७ हजार ७ सय मत ल्याएका छन् भने डेमोक्र्याटिक पार्टीका बिल नेल्सनले चालिस लाख पचासी हजार एक सय मत ल्याएका छन्। यसले गर्दा हातैले मतगणना गर्नुपर्ने अवस्था अाएको छ।
चुनावमा रिपब्लिकन पार्टीको अग्रता रहेको र उनीहरूले जित्ने अवस्था प्रबल रहेको सन्दर्भमा पनि राष्ट्रपति र फ्लोरिडाका रिपब्लिकन पार्टीका उम्मेदवारहरूले चुनावमा धाँधली भएको आरोप लगाएका छन्। ब्रोवार्ड काउन्टीमा भएको भनिएको प्राविधिक त्रुटिलाई आधार बनाएर गरिएको यस्तो अनर्गल प्रचारको फ्लोरिडाको चुनावी बोर्डले भने गम्भीर आलोचना गरेको छ।
एक दुई ठाउँमा केही समस्या रहे पनि धाँधली भएको कुनै आधार नभएको उनीहरूले स्पष्ट पारेका छन्। तर, आरोप-प्रत्यारोप जे भए पनि मतान्तर निकै झिनो भएको अवस्थामा आफ्नै तरिकाले अर्थ लगाउने काम भने जारी छ। चुनावी पराजय स्वीकार गरिसकेका डेमोक्र्याट पार्टीको तर्फबाट गभर्नरका प्रत्यासी एण्ड्रियु गिलमले आफ्नो स्वीकारोक्ति फिर्ता लिएर अन्तिम भोट गणना नरहुन्जेल आफू हार स्वीकार नगर्ने जनाएका छन् भने रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार रन डेसाण्टिसले गभर्नरले गर्नुपर्ने आवश्यक कामको तयारी सुरु गरिसकेका छन्।
(सेतोपाटीका लागि सञ्चारकर्मी लेखनाथ गौतमले विभिन्न सञ्चार सामग्रीहरुको सहयोगमा ‘अमेरिकामा यो साता’ को संयोजन गरेका हुन्।)