उत्तर र दक्षिण कोरिया वार्ता

Everest Fuji News २०७५ बैशाख १५ मा प्रकाशित       Published at 2018 Apr 28


उत्तर कोरिया तथा दक्षिण कोरियाका नेताबिच कोरियाली प्रयद्विपलाई परमाणु हतियार मुक्त बनाउका लागि एकीकृत रुपमा काम गर्ने सहमति भएको छ । उत्तर कोरियाका किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबिच शुक्रबार सीमा क्षेत्रमा भएको वार्तामा यस्तो सहमति भएको दुई नेताले जानकारी दिएका हुन् । यस्तै सन् १९५३ को कोरिया युद्ध रोक्न सफल भएको सहमतिलाई यो वर्ष शान्ती सम्झौताको रुपमा प्रयोग गर्ने पनि सहमति बनेको छ । सन् २०१८ लागेसँगै दुई कोरियाबिच सम्बन्ध सुधारको संकेत देखिएको थियो । त्यसको केही महिना भित्र दुई कोरियाका शीर्ष नेता बिच वार्ता भएको हो । उत्तर कोरियाका किम कोरिया युद्धपछि सीमा क्षेत्र नाघ्ने पहिलो नेता बनेका छन् शुक्रबार सीमा क्षेत्रको एक गाउँमा भएको वार्तापछि एक व्यांक्वेटमा भएको कार्यक्रममा बोल्दै उत्तर कोरियाका नेता किमले वार्ताअघि आफूले गरेका प्रतिबद्धता पूरा गर्नका लागि वा त्यसको बाटोमा अघि जानका लागि वार्ता सकारात्मक रहेको बताए । उनले भने, “हामीले उत्तर र दक्षिण कोरियाबिच रहेको चिसो सम्बन्धको बिदाई गरेका छौँ, जुन कुरा सपना जस्तै पनि लाग्ला । र, हामीले न्यानो सम्बन्धको सुरुवात गरेका छौँ, जसले विश्वमा बहार वा बसन्त ल्याउने छ ।” सहमति के भयो ? परमाणु निशस्त्रिकरण कसरी हुनेछ भन्ने कुराको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । धेरै विश्लेषकले उत्तर कोरियाको प्रतिबद्धतामा शंका पनि गर्दै आएका छन् । तर पनि दुई कोरियाका नेताले यसबारेमा सहमति भएको बताउनुले आश गर्ने ठाउँ भने रहेको छ । उत्तर कोरियाले परमाणु अतियारमुक्त बनाउने कुरामा आफ्नो देशमा सुरक्षा खतरा नरहेकोमा ढुक्क हुनु पर्ने बताउने गरेको छ । उसले अमेरिकाबाट आफ्नो देशमा खतरा रहेको बताउँदै आउने गरेको छ । अमेरिकाले दक्षिण कोरिया तथा जापानलाई सहयोग गर्दै आएको छ र दुवै देशमा अमेरिकी सेना पनि छन् । यसअघि पनि दुई कोरियाबिच सहमति भएको थियो । त्यो बेला पनि अहिले गरिएजस्तै दाबी र आह्वान गरिएको थियो । तर पछि उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम रोक्न स्वीकार गर्यो भने दक्षिण कोरियामा झन कन्जरभेटिव राष्ट्रपति निर्वाचित भएर आए । शुक्रबारको भेटपछि नेता किमले दुई देशबिच हराएको सहकार्य र पुरानो एकीकृत सम्बन्ध फिर्ता ल्याउनका लागि प्रयास गर्ने सहमति भएको बताए । उनले भने, “नराम्रो समय थियो, अँध्यारो भयो । निराशा देखियो । अप्ठ्यारो भयो । तर पीडा बिना विजयी प्राप्त हुन पनि सक्दैन ।” दुई देशबाट हुँदै आएका घातक गतिविधि रोक्ने, दुई देशलाई विभाजन गर्दै आएको डिमिलिट्राइज्ड जोन, डिएमजेडलाई शान्ति क्षेत्रमा विकास गर्ने, सेनाको संख्या घटाउने, अमेरिका र चीनको सहभागितासहितको चार पक्षीय वार्ताका लागि पहल गर्ने, कोरिया युद्धका कारण विभाजित भएका परिवारलाई आफन्तसँग पुनर्मिलन गराउने तथा खेलकुदमा साझा सहभागितालाई अझै बढाउनेसहितका सहमति भएका छन् । गएको फेब्रुअरीमा भएको विन्टर ओलम्पिकमा साझा झण्डामा मार्च गरेका उत्तर र दक्षिण कोरियाले आउँदै एसिएन गेम्समा पनि साझा झण्डामुनि मार्च गर्ने सम्भावना छ । दुई देशले आफूहरु बिच भएको सहमति कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय सहयोगको खोजी गर्ने पनि बताएका छन् । चीन र अमेरिकाले के भने ? चीनले दुई देशका नेताबिच भएको वार्ता र त्यसमा भएको सहमतिको स्वागत तथा त्यसका लागि आभार प्रकट गरेको छ । उसले भएका सहमति कार्यान्वयका लागि दुवै पक्षबाट काम हुनेमा आशावादी रहेको पनि बताएको छ । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि वार्ता तथा सहमतिको स्वागत गरेका छन् । उनले राम्रा कुराहरु हुने क्रम चलिरहेको ट्वीट मार्फत बताएका छन् । नेता किम र ट्रम्पबिच आउँदो केही हप्तामा वार्ता हुने तयारी छ । त्यसको तयारी भइरहेको छ । अमेरिकाले वार्ता सकारात्मक हुने नदेखिएमा छोडेर हिँड्ने पनि बताउने गरेको छ । वार्ताको बेलिबिस्तार उत्तर र दक्षिण कोरियाका नेतालाई परम्परागत पोशाकमा रहेका सुरक्षाकर्मीले गार्ड अफ अनर प्रदान गरेका थिए । त्यसपछि उनीहरु सीमा क्षेत्रमो डिएमजेड क्षेत्रमा रहेको पान्मुन्जोम गाउँमा रहेको शान्ती भवनमा गए । त्यसपछि नेता किमले दक्षिण कोरियाली राष्ट्रपतिलाई उत्तर कोरियाको डिमार्केशन लाइनमा बोलाए । यो प्रक्रिया सकिएपछि दुवै नेता हातमा हात राखेर उनीहरु दक्षिण कोरियाली भूमिमा आए र वार्ता भयो । दुवै नेताले दक्षिण कोरियाली टेलिभिजनमा प्रशारण गरिएको सेसन्समा संयुक्त सम्बोधन गरे । त्यसक्रममा नेता किमले दक्षिण कोरियाका राष्ट्रपति मुनलाई हाँसोमजाक गर्दै उत्तरको मिसाइल तथा परमाणु परीक्षणका कारण चाँडै उठ्न बाध्य पारेकोमा माफी पनि मागे ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.