दक्षिण कोरियाले बन्द गर्यो उत्तर कोरियाविरुद्ध प्रचार गर्ने स्पीकर
Everest Fuji News२०७५ बैशाख ११ मा प्रकाशितPublished at 2018 Apr 24
बीबीसी । उत्तर कोरिया र दक्षिणबीच यसै हप्तामा हुन गइरहेको ऐतिहासिक बैठकपूर्व सिओलले सीमा क्षेत्रमा लगाइएका लाउडस्पीकर बन्द गराउने घोषणा गरेको छ । दुवै देशले सीमा वरपरको आ–आफ्नो क्षेत्रमा यस प्रकारका दर्जनौँ स्पीकर लगाएका छन् जसमा पप गीतदेखि लिएर अर्को देशको आलोचना गरिएको खबर पनि सुनाइने गरिएको छ ।
सो स्पीकरलाई त्यसको आवाज छिमेकमा तैनाथ उत्तर कोरियाली सेनासम्म पुग्न सक्ने गरि राखिएकोे छ ।
आगामी शुक्रबारका लागि तय भएको बैठकको माहोल सहज बनाउने उद्देश्यले सिओलले एकअर्काविरुद्धको प्रचार कार्य बन्द गर्ने निर्णय गरेको बताएको छ ।
दक्षिण कोरियाको सो निर्णयपछि दुवै देशबीचको सैन्य तनाव कम हुने र यसले द्वीपक्षीय आलोचनाको क्रम पनि न्युन गराउने अपेक्षा गरिएको दक्षिणका प्रवक्ता चोेइ होइ युनले बताएका हुन् । यस कदमले शान्ति कायम गरि नयाँ सुरुवात गर्नमा पनि योगदान पुर्याउने विश्वास रहेको उनको भनाइ छ ।
कोरियाली युद्धपछिदेखि सुरु गरिएको यस प्रचार कार्यक्रमको वास्तविक लक्ष्य उत्तर कोरियाका नागरिक तथा सेनालाई उनीहरुका शाषकको वास्तविकताबारे जानकार गराउनु रहेको बताइन्छ । दक्षिण कोरियाले यसरी आफ्नोतर्फबाट उत्तर कोरिया विरुद्धको प्रचार बन्द गराएको यो पहिलो पटक भने होइन ।
कोरियाली प्रायद्विपमा आउने कूटनीतिक बदलावसँगै स्पीकर बन्द हुने र फेरि चालू गरिने क्रम धेरैपटक भइसकेको छ । सन् २००४ मा पनि दुवै देशबीच सम्झौता भएपछि यस प्रकारको प्रचार कार्यक्रमा रोक लगाइएको थियो तर २०१५ मा उत्तर कोरियालले सेनामुक्त क्षेत्रमा राखेको विस्फोटक पदार्थका कारण दक्षिणका दुई सेना गम्भीर घाइते भएपछि भने लाउडस्पीकर पुनः सुरु गरिएको थियो । यसपछि पनि दक्षिण कोरियाले स्पीकर बन्द गराउने निर्णय गरेको थियो तर २०१६ मा उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेपछि दक्षिणले स्पीकर फेरि सुरु गरेको हो ।
यसअघि दक्षिणसँगको बैठकपूर्व उत्तर कोरियाले पनि आफ्नो तर्फबाट परमाणु परीक्षणमा रोक लगाउने घोषणा गरेको थियो । त्यसैले दक्षिणले पनि किम र मुनको भेटवार्ता भन्दा अगाडि शान्तिपूर्ण वातावरण सिर्जना गने उद्देश्यले यस्तो गरेको बताएको छ ।