काठमाडौँ, २३ चैत- भ्रमणका लागि निम्त्याउने देशले द्विपक्षीय शिखर वार्तापछि जारी गरिने संयुक्त विज्ञप्तिको मस्यौदा अगाडि नै पठाएको हुन्छ, जसमा भ्रमण गर्ने पक्षले गहन गृहकार्य गर्नपर्ने हुन्छ ।
नयाँ पत्रिका दैनिक लेख्छ - केही महिनाअघि शेरबहादुर देउवाको भारत भ्रमणका लागि गृहकार्यमा तत्कालीन योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले सक्रिय थिए ।
तर, संयुक्त विज्ञप्तिका लागि प्रभावकारी छलफलको परम्परा नै नभएको देखेर आफू छक्क परेको वाग्ले बताउँछन् । विकसित देशले लामो गृहकार्य अर्थात् वर्षौँ तयारी गरेका हुन्छन् । ‘नेपालले, त्यो पनि भारत भ्रमणका क्रममा तयारीको समयसमेत पाउँदैन,’ वाग्ले भन्छन् । सरकार बनेको केही समयमै भारत भ्रमण हुन्छ, केही सातामै भ्रमणको मिति तय हुने गर्छ ।
टोली ठूलो हुँदा लाजमर्दो हुने अवस्था पनि अक्सर आउँछ । फेरि नेपाली पक्षले भ्रमण दलको सदस्यको नाम पनि समयमै दिन्नन् । समयमा नाम नपाएका कारण स्वागत गर्ने पक्षले तयारी गर्न पाएको हुन्न, होटेल बुकिङसमेत नभएको हुन सक्छ ।
प्रधानमन्त्री ओली यसअघि भ्रमणमा छँदा मुम्बई पनि पुगेका थिए । मुम्बईको हायात होटेलमा कसलाई कुन कोठा भन्ने अन्योल हुँदा अर्थमन्त्री नै झन्डै एक घन्टा लबीमा कुर्नपरेको एक व्यवसायी सुनाउँछन् ।
देउवाको भ्रमणका क्रममा हैदराबादमा त्यस्तै भयो । मधेसी दलसम्बद्ध सांसदको नाम अन्तिम समयमा दिइएको थियो, होटेलमा घन्टौँ कुरेपछि कोठाको बन्दोबस्त भएको थियो ।
भ्रमण दलका सदस्यका लागि नामसहितको सिट विनियोजन आदिको तयारी पूरा भएको थिएन । ‘मधेसी भएकाले परराष्ट्रका कर्मचारीले हेपे भनेको पनि सुनियो,’ वाग्ले भन्छन्, ‘तर, त्यो समयमा नाम नपठाउँदाको परिणाम थियो ।’
राजकीय भ्रमणमा जाँदा प्रधानमन्त्री र उनको पिएलाई राष्ट्रपति भवनमा राखिन्छ । बाँकीका लागि होटेल बुक गरिदिएको हुन्छ । होटेलका कोठाको बिल भारत सरकारले तिर्दिए पनि ‘मिनीबार’को आफैँले तिर्नपर्ने हुन्छ । यस्ता कुरा थाहा नहुँदा पटक–पटक लज्जित हुनपर्ने अवस्था आउँछ ।
०६३/६४ को परिवर्तनपछि गिरिजाप्रसाद कोइराला भ्रमणमा जाँदा ठूलै घरानाका व्यापारीले ‘मिनीबार’बाट झिकेर पिएको बिल दुई लाख भारुभन्दा बढी भएछ ।
भ्रमण दलमा रहेका तत्कालीन अर्थसचिव रामेश्वर खनालका अनुसार त्यही होटेलको अर्को कोठामा पत्रकारको बिल ७० हजार भारु । वाग्लेका अनुसार देउवाको भ्रमणका क्रममा पनि यस्तो भएको थियो । एकजना सांसदसँग मिनीबारको भारी रकम होटेलले मागेपछि लफडा भएको थियो ।