अमेरिकासँग कुरा गर्न रूस तयार

Everest Fuji News २०७४ फाल्गुन २८ मा प्रकाशित       Published at 2018 Mar 12


मस्को : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश अमेरिकासँग जुनसुकै मुद्दामा पनि छलफल गर्न तयार रहेको बताएका छन्। उनले भने, ‘हामी जुनसुकै मुद्दामा पनि कुराकानी गर्न तयार छौँ र अमेरिकाले पनि हामीलाई त्यस्तै हिसाबको व्यवहार गरोस् भन्ने हामी चाहन्छौँ।’ राष्ट्रपति पुटिनले अमेरिकासँग क्षेप्यास्त्रसँग सम्बन्धित विषयवस्तुहरू, साइबर स्पेस वा प्रतिआतंकवाद जस्तोसुकै विषयमा पनि कुराकानी गर्न तयार भएको जानकारी दिए। उनले रूसको एनबिसी मिडियासँगको कुराकानीमा यस्तो धारणा सार्वजनिक गरेका हुन्। पुटिनले उक्त अन्तर्वार्तामा रूस र अमेरिकाले समस्या वा मुद्दा के छन् भन्ने बारेमा बसेर छलफल गर्नुपर्नेमा जोड दिएका छन्। वार्ता गर्नुको साटो अमेरिकाले सार्वजनिक अभिव्यक्तिका रूपमा आक्रोश व्यक्त गर्ने गरेको उनको भनाइ थियो। पुटिनले भने, ‘मलाई त लाग्छ, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि रूससँग सबै विषयमा, सबै मुद्दामा बसेरै वार्ता गरौँ भन्ने पक्षमा हुनुहुन्छ, तर कुनै अर्काे शक्तिले उहाँलाई यसो गर्न दिइरहेको छैन।’समयले अमेरिकालाई पनि रूससँग सबै विषयमा बसेरै वार्ता गर्ने काममा सघाउने र एउटै टेबलमा ल्याउने काम गर्नेमा आफू विश्वस्त रहेको पनि आफूले अपेक्षा गरेको उनले बताए। अमेरिका र रूसबीच पछिल्लो समयमा सम्बन्ध चिसिएको छ। सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रूसले वर्तमान राष्ट्रपति ट्रम्पका पक्षमा काम गरेको भन्ने भनाइ अमेरिकी सञ्चारमाध्यमको छ। यो कुरालाई डेमोक्र्याटका तर्फबाट राष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टनले पनि अघि सारेकी थिइन्। त्यसै विषयमा अमेरिकी मिडियाले पनि राष्ट्रपति ट्रम्पलाई निकै आरोप लगाएका थिए। यसलाई राष्ट्रपति ट्रम्पले स्वीकार गरेका छैनन्। तैपनि पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा तिक्तता आएको छ। राष्ट्रपति भएका शुरुका दिनहरूमा भने ट्रम्पले रूसी राष्ट्रपति पुटिनको निकै प्रशंसा गर्ने गरेका थिए।( Annapurna)


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.