एजेन्सी । रुसले सोमबार सिरियाको पूर्वी गोटा क्षेत्रबाट युद्धमा फसेका सर्वसाधारणलाई निकाल्न दैनिक पाँच घण्टासम्म हमला रोक्ने र मद्दतका लागि अधिकारीहरु समेत खटाउने घोषणा गरेको छ । यस अन्र्तगत मंगलबार बिहानको ९ बजेदेखि नै अभियान सुरु गरिँदा गोटा क्षेत्र अहिले शान्त बनेको घटनास्थलमा उपस्थित संचारकर्मीले रोयटर्सलाई जानकारी दिएको बताइएको छ ।
डम्यास्कसको नजिकैको क्षेत्रमा मात्र करिब चार लाख जनताहरु फसेको जानकारी प्राप्त भएपछि अन्तर्राष्ट्रिय समुदायको दबाबमा रुसले सो निर्णय लिएको बताइएको छ ।
राष्ट्रपति बसर अल अस्सदको निर्देशनमा सिरियाली सेनाले गोटाको थोरै क्षेत्रमा सक्रिय रहेका आतङ्ककारी संगठनलाई हटाउन आठ दिनसम्म लगातार हमला गरेपछि ५०० भन्दा बढी नागरिकले ज्यान गुमाएका छन् , जसमा १०० भन्दा बढी निर्दोष बालबालिका पनि परेको बताइएको छ ।
रुसका रक्षा मन्त्री सेर्गी सोइगुले सो घोषणाबारे बताउँदै मानिसहरुलाई सुरक्षित स्थानमा पुर्याउन दैनिक केही घण्टाका लागि सैन्य हमलामा रोक लगाउने बताएका हुन् ।
संयुक्त राष्ट्र संघले युद्धविरामको पक्षमा वार्ता गरिसक्दा पनि हमला नरोकिएपछि विश्वभर यसप्रति चिन्ता व्यक्त गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका हुन् ।
आइतबार मात्र हमलामा फसेका सर्वासाधारणमाझ आपतकालिन सेवाहरु पुर्याउन समय माग गर्दै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले तीस दिनका लागि युद्धविराम गराउन माग राखेको थियो ।
सोमबार बसेको बैठकमा संयुक्तका महासचिव एन्टोनियोले पूर्वीय गोटाको अवस्था अत्यन्तै भयावह भइसकेकाले तुरुन्तै हिंसालाई रोक्नुपर्ने चेतावनी दिएका छन् ।
यसबारेमा रुसका विदेश मन्त्री सेर्गी लभ्रोभले संचारकर्मीहरुसँग, सबै पक्षले संयुक्तको सो अभियानलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा सहमति जनाएपछि मात्र युद्धविराम हुन सक्ने बताए ।
यसका साथै आइतबार कतिपय स्थानमा रासायनिक बम हमला भएको समेत दाबी गरिएको छ । अहिलेसम्म १८ मानिसहरुमा यसको लक्षण देखा परेको खबर बाहिर आएको हो । यसले बालबालिकालाई सबैभन्दा बढी प्रभाव पारिरहेको र एक ४ वर्षे बालकको मृत्यु भइसकेको बताइएपनि सिरियाली सरकारले यसलाई अस्वीकार गरिरहेको बताइएको छ ।