सिरिया : दमासकसको बाहिरी इलाकाको पूर्वीभागमा पर्ने घौटामा आइतबारदेखि शुरु भएको सिरिया र रूसको संयुक्त हवाई आक्रमणमा २५० जना सर्वसाधारण मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ।
यस हवाई कारबाहीमा परी दर्जनौं बालबालिका मारिएका छन्। सिरियामा जारी सात वर्ष लामो द्वन्द्वको क्रममा यो एक रक्तपातपूर्ण कारबाहीको रूपमा रहेको छ।
विद्रोहीको बलियो प्रभाव रहेको यस क्षेत्रमा मंगलबार गरिएको हवाई आक्रमणमा १९ बालबालिकासहित १०६ सर्वसाधारण मारिएका अब्जरभेटरी जनाएको छ। त्यसैगरी सोमबार पनि घौटामा १२७ भन्दा बढी व्यक्ति मारिएका थिए। सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वी घौटामा करिब ४ लाख मानिसको बसोवास रहेको छ।
यस यस प्रकारको बमबारी रोक्न संयुक्त राष्ट्रसंघका एक अधिकारीले आग्रह गरेका थिए। हाल त्यहाँको अवस्था नियन्त्रणबाहिर गइरहेको प्रतिक्रिया उनले दिएका थिए। घौटा राजधानी दमासकसनजिकै विद्रोहीको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र हो। त्यस क्षेत्रमा पुनः नियन्त्रण कायम गर्न सिरियाली सुरक्षाबलले प्रयास जारी राखेको छ। यसमा रूसको पनि सहयोग रहेको छ।
सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजीनामा माग गर्दै आन्दोलन शुरु भएको थियो। उक्त आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो। युद्धका कारण हालसम्म तीन लाख ४० हजारभन्दा बढी व्यक्ति मारिएका छन्। त्यसैगरी लाखौं घाइते भएका छन् भने लाखौं घरबार विहीन भई शरणार्थी जीवन विताउन बाध्य छन्।