विमान दुर्घटनामा ६६ जनाको मृत्यु

Everest Fuji News २०७४ फाल्गुन ७ मा प्रकाशित       Published at 2018 Feb 19


एजेन्सी / तेहरान इरानको जाग्रोस नामक पहाडी क्षेत्रको डेना पहाडमा यात्रुवहाक विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ । असेमान एयरलायन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गर्दा दुर्घटनामा परेको एयरलायन्सका सार्वजनिक सम्बन्ध निर्देशक मोहम्मद ताबाताबाइले जानकारी दिएका छन् । घटनास्थल यासुजदेखि २३ किलोमिटर र राजधानीदेखि ५ सय किलोमिटर टाढा पर्छ ।   निर्देशक ताबाताबाले भने, ‘विमान दुर्घटनालगत्तै हामीले घटनास्थलमा खोजी र उद्धार कार्य सुरु गरेका थियौं । दुर्भाग्यवश हामीले कसैलाई पनि जीवित पाउन सकेनौं । हाम्रा सबै प्रियजनको निधन भएको छ ।’ विमानमा एक जना बच्चासहित ६० जना यात्रु, दुई जना सुरक्षा गार्ड, दुई जना एयर होस्टेज र चालक तथा सहचालक गरी ६६ जना सवार थिए । इरानको राष्ट्रिय आपतकालीन सेवाले दुर्घटनामा परेकाको उद्धारका लागि घटनास्थलमा हेलिकोप्टर नै पठाएको थियो । आपतकालीन सेवाका प्रवक्ता मोज्ताबा खालेदीले भने, ‘घटनास्थल पहाडी क्षेत्र भएकाले त्यहाँ एम्बुलेन्स पठाउने अवस्था छैन ।’ आतपकालीन सेवाले विमान दुर्घटना भएको क्षेत्रमा खराब मौसमले उद्धार कार्यमा कठिनाइ उत्पन्न भएको जनाएको छ । दुर्घटनास्थलमा सडकमार्ग र हेलिकोप्टरबाट उद्धारकर्ताहरू पठाइएको छ । पछिल्ला केही वर्षदेखि इरानमा ठूला विमान दुर्घटनामा पर्न थालेका छन् । परमाणु कार्यक्रमका कारण अन्तर्राष्ट्रिय नाकाबन्दी लागेका कारण इरानले विमान मर्मतका लागि पाटपुर्जा ल्याउन सकिरहेको छैन । सन् २०४ मा इन्जिन फेल हुँदा भएको दुर्घटनामा ३९ जनाको मृत्यु भएको थियो भने सन् २००९ मा इरान एयरको बोइङ ७२७ विमान दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको थियो । गृहमन्त्रीसहित वरिष्ठ अधिकारी सवार हेलिकोप्टर दुर्घटना , १४ जनाको मृत्यु, केही घाइते मेक्सिको सिटी / एजेन्सी– मेक्सिकोको दक्षिणी क्षेत्रमा गृह मन्त्रीसहित वरिष्ठ अधिकारी सवार हेलिकोप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा गएको शक्तिशाली भूकम्पको केन्द्रबिन्दुतर्फ गइरहेका बेला विमान दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन् ।   ओक्साका राज्यको सान्टियागो जामिल्टेपेकमा हेलिकोप्टर दुर्घटना भएको हो । गत शुक्रबार राति ७.२ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो मात्रामा भौतिक क्षति भएको छ । दुर्घटनामा परी पाँच महिला, चार पुरुष र तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको र अन्यको अस्पतालमा मृत्यु भएको ओक्साकाका अधिकारीले बताएका छन् । यूएच–६० ब्ल्याक हक नामक सो सैन्य हेलिकोप्टरमा मेक्सिकोका आन्तरिक मामिलासम्बन्धी मन्त्री अल्फोन्सो नाभर्रेटे र ओक्साका राज्यका गभर्नर अलेजान्द्रो मुरात समेत रहेका थिए । तर, मन्त्री र गभर्नर भने सकुशल रहेका छन् । भूकम्पका कारण सो क्षेत्रमा ५० वटा घरसँगै सभाहल र केही चर्च पनि ध्वस्त भएका छन् । ओक्साका राज्यका अधिकारीले भूकम्प प्रभावितका लागि शिविर स्थापना गरेका छन् भने उनीहरूलाई आपतकालीन सहयोगका लागि झन्डै ६ हजार सैनिक र प्रहरी पनि परिचालन गरिएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.