फ्लोरिडा- उद्यमी एलोन मस्कले कारसहितको आफ्नो नयाँ रकेट फाल्कोन हेभीलाई केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरेका छन्।
हालसम्मकै विशाल भारवहन क्षमता तथा शक्तिशाली सटल सिस्टम भएको उक्त रकेट कुनै प्रतिरोधबिना एटलान्टिक महासागरस्थित स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको हो। प्रक्षेपण अगाडि रकेटको जोखिमको अवस्था जाँच गर्न परीक्षण उडान गरिएको थियो।
सो रकेट अन्तरिक्षमा पुगेर मंगल ग्रहको कक्षमा घुमिरहेको छ।
दि स्पेस एक्सका प्रमुख मस्कले विकास गरिएको नयाँ रकेटको प्रक्षेपण सफल हुने सम्भावना झन्डै ५०/५० प्रतिशत रहेकाले चुनौतीपूर्ण भएको बताएका थिए।
प्रक्षेपण सफल भएपछि प्रतिक्रिया दिँदै उनले भने, ‘रकेट प्रक्षेपण गर्दा मैले लन्चिङ प्याडमा हुने विशाल विस्फोट मात्रै देखेको थिएँ। तर, यो सफल भएपछि प्रक्षेपणको बेलाको विशाल विस्फोटभन्दा बढी खुसी मिलेको छ।’
'फाल्कोन हेभी' रकेटले सफलता हात पारेसँगै यो हालसम्मकै प्रक्षेपण गरिएकामध्ये धेरै भारवहन क्षमता भएको रकेटमा सूचित भएको छ।
सो रकेटको निर्माण पृथ्वीको तल्लो अर्विटमा ६४ टन भारवहन गर्न सक्नेगरी बनाइएको छ, जसको तौल लन्डनका ५ वटा दुई तले बस बराबरको छ।
मस्कका अनुसार, यो किसिमको प्रदर्शन संसारको सबैभन्दा शक्तिशाली रकेट ‘डेल्टा आइभी हेभी’ को तुलनामा केही बढी हो, तर लागत भने त्यसको तुलनामा एक तिहाई मात्रै हो।
उक्त रकेटको निर्माण गर्नु मंगल ग्रहमा कार र डमीलाई पठाउनु रहेको मस्कले बताएका छन्। सो अनुसन्धानात्मक तथा महत्वाकांक्षी योजनाअन्तर्गत उनले आफ्नो चेरी (रातो) रंगको सानो र पुरानो टेस्ला कारलाई अन्तरिक्षमा पठाएका हुन्।
सो कार चालकको सिटमा एक डमीलाई बसाइएको तथा कारमा एक रेडियो समेत फिट गरिएको छ। जसमा डेभिड बोइको गीत बजाइएको थियो।
उडानका क्रममा सबै चरण सफलतापूर्वक पार भए पनि प्रक्षेपणपछि करिब साढे ६ घन्टासम्म कुनै सूचना प्राप्त भएन। तर, कार र यसमा राखिएको डमीलाई सूर्यको वरिपरि रहेको अण्डाकार कक्ष (जो मंगल ग्रहभन्दा धेरै टाढा थियो) मा सफलतापूर्वक छाडिएको थियो।
रकेटमा रहेका २ वटा तल्लो हिस्सा (बुस्टर हेड) भने फ्लोरिडाको दक्षिण केनेडीमा तोकिएकै समयमा एकैसाथ अवतरण भएका थिए।
सो अवतरणपछि मस्कले भने, ‘वास्तवमै यो अपूर्व घटना हो, साँच्चै यस्तो रोमाञ्चक दृश्य सायदै देखेको थिएँ।'
तेस्रो बुस्टर समुद्रबाट केही सय किलोमिटरको दूरीमा बनाइएको एक ड्रोन विमानमा आएर बस्नुपर्ने थियो। तर, यसलाई ड्रोनसम्म पुर्या उने इन्धनको अभाव भएपछि करिब ५ सय किलोमिटर प्रतिघन्टाको दरले जमिनतर्फ आइरहेको सो बुस्टरलाई समुद्रमै नष्ट गरिएको थियो।
रकेट ७ माइल प्रतिघन्टाका दरले ४ सय मिलियन किलोमिटरको यात्रा तय गर्दै मंगल ग्रहको कक्षमा पुगेको थियो।
सो रकेटको सफल र शक्तिशाली प्रक्षेपणबाट मस्क तथा उनको स्पेस एक्स कम्पनीलाई नयाँ सम्भावनाबारे अध्ययन गर्न बाटो फराकिलो बनेको छ। रकेटको प्रक्षेपणले अमेरिकी हवाई सेना तथा गुप्तचर एजेन्सीले प्रगोग गर्ने ठूला भनिएका भू–उपग्रहलाई समेत पछाडि पारिदिएको दाबी गरिएको छ।
यस्ता अन्तरिक्षयानलाई मंगल ग्रहको सतहमा पुग्न, बाहिरी ग्रहहरु बृहस्पति, शनि तथा तिनका उपग्रहसम्म पुग्न पनि प्रयोग गर्न सकिने बताइएको छ।
सो प्रक्षेपण सफल भएसँगै बुधबार बिहान मस्कले भनेका छन्, ‘फाल्कोन हेभीको सफल प्रक्षेपणपछि अन्य सबै वजनदार रकेटहरुको खेल खत्तम भएको छ!’
अन्तरिक्षमा कुकुरदेखि गल्फ बलसम्म
मस्कले आफ्नो कार पठाउनुअघि विभिन्न सजीव तथा निर्जीव वस्तुले पनि अन्तरिक्षको यात्रा गरिसकेका छन्।
गत जनवरी २१ मा निकै ठूलो आकारको डिस्को बललाई अन्तरिक्षमा पठाइएको थियो। न्युजिल्यान्डको अन्तरिक्ष कम्पनी रकेट ल्याबले पृथ्वीको कक्षमा घुम्नेगरी सो बल प्रक्षेपण गरेको थियो। ३ फिट चौडाइ रहेको सो बललाई 'ह्युमानिटी बल' नाम दिइएको थियो। कार्बन फाइबरबाट बनेको सो बलमा ६५ वटा पारदर्शी प्यानल जडान गरिएको छ।
युरी गागरिनबाट सुरु भएको अन्तरिक्ष यात्रीको सूचीमा पछिल्लो समय क्यानडाका कलाकार जेम्स दोहन पनि सामेल भएका छन्।
अन्तरिक्षमा पुग्ने पहिलो जनावर लाइका नामको कुकुर हो। सन् १९५७ मा रुसको मस्कोबाट प्रक्षेपण गरिएको सो रकेट अत्यधिक तापक्रमका कारण पृथ्वीमा फर्कन असफल भएको थियो।
त्यसपछि गल्फ बललाई चन्द्रमाको सतहमा पठाइएको थियो। सन् १९७१ मा एपोलो–१४ यानमा अन्तरिक्षयात्री अलान सेफर्डले सो बललाई चन्द्रमामा प्रक्षेपण गरेका थिए।
अचम्मको कुरा त मासु र आलुबाट बनाइएको पाइ (समोसा जस्तै खाने परिकार) लाई समेत पृथ्वीको दोस्रो वायुमण्डलीय तह 'स्ट्राटोस्फेयर'मा पुर्यााइएको छ। यसलाई मौसमी बेलुनको सहयोगमा सन् २०१६ मा त्यसतर्फ पठाइएको थियो।
(यो आलेख बिबिसीका लागि विज्ञान संवाददाता जोनाथन अमोसले तयार पारेका हुन्।)
अनुवादः विमर्श कँडेल