सिओल-शुक्रबार हुने शितकालिन ओलम्पिकको उद्घाटन सत्रमा उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी पनि सहभागी हुने भएकी छन्।
दक्षिण कोरियाको प्योङचाङमा हुने सो उद्घाटन सत्रमा नेता उनकी कान्छी बहिनी किम यो जोङको सहभागिता रहने दक्षिणका एक मन्त्रीले पुष्टि गरे।
पूर्व नेता किम जोङ इलकी कान्छी छोरी जोङ सत्तारुढ वोर्कस पार्टी अफ कोरियाकी पोलिटब्युरो सदस्य हुन्। गत वर्ष मात्रै पार्टीमा उनको भूमिकालाई शक्तिशाली बनाइएको थियो।
ओलम्पिकको उद्घाटन सत्रमा दुवै कोरियाले संयुक्त झण्डामुनि मार्चपास गर्नेछन्।
उत्तरको ओलम्पिकमा हुन लागेको सहभागिताले द्विपक्षिय तनावलाई मत्थर गर्ने आशा गरिएको छ। तर कतिपय विज्ञहरुले भने यो कार्यले उत्तर कोरियाको आणविक कार्यक्रममा कुनै पनि प्रभाव नपार्ने आंकलन गरिरहेका छन्।
उत्तर कोरियाका संवैधानिक संसद प्रमुख किम योङ नामको नेतृत्वमा रहने उच्च स्तरिय प्रतिनिधि मण्डलमा जोङको उपस्थितीलाई गत साताको अन्तिम दिनमा मात्रै तय गरिएको थियो।
२ सय ८० भन्दा बढि सदस्य रहने उत्तर कोरियाली प्रतिनिधी मण्डलमध्ये खेलाडी, चेयरलिडर, सांस्कृतिक टोलीलगायतको एक समूह भने बुधबार बिहान दक्षिण पुगेको छ।
उत्तर कोरियाका खेलकुद मन्त्री किम गुकको नेतृत्वमा आएको टोलीमा ओलम्पिक कमिटिका ४ पदाधिकारी, २ सय २९ चेयरलिडर, २६ जना तेक्वान्दो प्रशिक्षक तथा २१ जना पत्रकारहरु रहेका छन्।
योनहाप न्युज एजेन्सीका अनुसार सो टोली पश्चिम सिमा हुँदै अाज बिहान ९ः२८ मा दक्षिण कोरिया प्रवेश गरेको थियो।