अमेरिकाले उत्तर कोरियाका प्रमुख अधिकारीमाथि प्रतिबन्ध लगाएपछि मध्यस्थताको भूमिका निभाउने रुसको प्रस्ताव

Everest Fuji News २०७४ पुष १३ मा प्रकाशित       Published at 2017 Dec 28


काठमाडौं । अमेरिकाले उत्तर कोरियाका दुई प्रमुख अधिकारीमाथि मंगलबार प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उत्तर कोरियाका सबै ठूला मिसाइल परीक्षणहरुमा तिनै अधिकारीको मुख्य भूमिका रहेको भन्दै अमेरिकाले उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको बताएको छ । किम जोङ सिक र रि प्योङ छोल नामका दुई अधिकारीहरुलाई नेता किम जोङले आफैँ छनोट गरेर राखेकाले पनि उनीहरु किम प्रशासनका विशिष्ट व्यक्तिमा पर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन् । ती दुवै अधिकारीहरु उत्तर कोरियाका हरेक मिसाइल परीक्षणको तस्बिरमा किमका साथमै देखापर्ने गरेका छन् । तिनीहरु दुई लगायत अर्का हतियार निर्माणकर्ता जाङ छानहा पनि मिसाइल सम्बन्धी कार्यमा किमका मुख्य हतियार रहेको बताइन्छ । खबरका अनुसार रि प्योङ छोल यसअघि रुसी वायु सेनामा कार्यरत थिए र उनले त्यहीँ आफ्नो पढाई पूरा गरेका थिए । त्यस्तै किम जोङ सीक भने रकेट वैज्ञानिक भएको बताइएको छ । हालै संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि लगाएको प्रतिबन्धमा ९० प्रतिशत पेट्रलियम पदार्थको कटौतिका साथै उत्तर कोरियाबाट वैदेशिक रोजगारीमा गएकालाई पनि २४ महिनाभित्र घर फर्किनुपर्ने आदेश दिइएको थियो । प्योङयोङले गत २८ नोभेम्बरमा गरेको शक्तिशाली ब्यालेस्टिक मिसाइल परीक्षणका विरुद्धमा संयुक्त राष्ट्र संघले थप प्रतिबन्ध लगाएको हो । यस्तोमा छिमेकी देश रुसले भने उत्तर कोरियाका विरुद्ध अमेरिकाको आक्रामक नीति अस्वीकार्य रहेको बताउँदै आएको छ । त्यसैले पनि उत्तर कोरिया र अमेरिका दुवै सहमतिमा आउन इच्छुक भएमा रुसले वार्तालाई सफल बनाउन मध्यस्थको भूमिका खेल्ने प्रस्ताव राखेको छ । अमेरिका र उत्तर कोरिया दुवैसँग राम्रै कूटनीतिक सम्बन्ध राख्दै आएकाले पनि रुसले यस कार्यलाई सफल पार्न सक्ने विश्वविद्हरुको भनाइ छ । रुसले र चीनले धेरै अघि देखि नै अमेरिका र उत्तर कोरियालाई शान्तिपूर्ण वार्तामा आएर छलफल गर्नतर्फ जोड दिइरहेका छन् । तर उत्तर कोरियाको हतियार निर्माण कार्यमा विश्राम नलागेसम्म वार्ताको कुनै अर्थ नहुने ट्रम्पको भनाइ छ । अर्कोतर्फ उत्तर कोरियाले पनि सबैतिरबाट लगातार दबाब आइरहेपनि हतियार निर्माण कार्यलाई जारी राखेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.