वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि विभिन्न छ वटा मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको यात्रा प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरेको छ । मुस्लिम देशहरूमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनल्ड ट्रम्पको नीतिको यसअघि व्यापक मात्रामा विरोध भएको थियो ।
उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न नमिल्ने आदेश यसअघिको अदालतले दिएको थियो । सर्वोच्च अदालतको सोमबारको आदेशले राष्ट्रपति ट्रम्पको उक्त निर्णयलाई सदर गरिदिएको छ ।
उक्त निर्णयबमोजिम अब ती मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउन सकिने भएको हो । अदालतले दिएको आदेशमा राष्ट्रपति ट्रम्पले लगाएको यात्रा प्रतिबन्ध पूर्ण रूपमा कार्यान्वयन गर्न पाउने गरी खुला गरिएको छ । मुस्लिम बाहुल्य देशहरू सोमालिया, सिरिया, यमन, चाड, इरान, लिबियाका नागरिकविरुद्ध राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेश गर्न नपाउने गरी यात्रा प्रतिबन्ध लगाएका थिए ।
सोमबार सर्वोच्च अदालतका बहुमत न्यायाधीशहरूले ट्रम्प प्रशासनले लगाएको यात्रा प्रतिबन्धमाथि रोक लगाउने तल्लो अदालतको निर्णयलाई खारेज गरिदिएका छन् । सर्वोच्चका ९ मध्ये ७ न्यायाधीशले उक्त प्रतिबन्धको पक्षमा फैसला दिएका हुन् । क्यालिफोर्नियाको सान फ्रान्सिस्को र भर्जिनियाको रिचमन्ड संघीय पुनरावेदन अदालतहरूले राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्धसम्बन्धी नीति ठीक नभएको बताएका थिए ।
यसैबीच सर्वोच्च अदालतको यस पछिल्लो कानुनको विभिन्न क्रिया प्रतिक्रियाहरू आइरहेका छन् । मुसलमान देशहरूमाथि लगाउने पछिल्लो यात्रा प्रतिबन्धले पुर्याउने कानुनी लाभ र त्यसले पार्ने मानवीय असरका बारेमा मानिसहरूले आफ्ना धारणा व्यक्त गरिरहेका छन् । यसअघि राष्ट्रपति ट्रम्पको आदेशको अमेरिकाभित्र अधिकांशले विरोध गरेका थिए । अधिकारवादीहरूले पनि यसरी कुनै देशका नागरिकलाई नै अमेरिका छिर्न नपाउने गरी लगाइएको प्रतिबन्ध नागरिकको अधिकार विरुद्ध भएको बताएका थिए ।