फ्रान्सकी आजुले यूनेस्को प्रमुख निर्वाचित

Everest Fuji News २०७४ आश्विन २८ मा प्रकाशित       Published at 2017 Oct 14


पेरिस, फ्रान्स । संयुक्त राष्ट्रसंघको सांस्कृतिक निकाय युनेस्कोले फ्रान्सकी पूर्व संस्कृतिमन्त्री ओड्रे आजुलेलाई नयाँ प्रमुखको रूपमा चयन गरेको छ । यूनेस्को इजरायलप्रति ‘पूर्वाग्रही’ भएको भन्दै अमेरिकाले उक्त निकायबाट अलग हुने घोषणा गरेको एक दिनपछि नयाँ प्रमुखका रूपमा आजुले निर्वाचित हुनुभएकोे हो । युनेस्को प्रमुख चयन गर्न भएको दोस्रो चरणको मतदानमा मोरक्को मूलकी यहुदी आजुलेले आफ्ना प्रतिद्वन्द्वी कतारका पूर्व संस्कृतिमन्त्री हमाद बिन अब्दुल अजिज अल–कवारीलाई झिनो मत अन्तरले हराउनु भएको हो । अमेरिका र इजरायलले युनेस्कोबाट अलग हुने घोषणा गरेपछि उक्त निकायको प्रमुख चयन गर्ने कुरा छाँयामा परेको थियो । यसअघि अमेरिकाले युनेस्कोबाट अलग हुने घोषणा गरपछि यसको केही घण्टा नबित्दै इजरायलले आफू पनि उक्त निकायबाट बाहिरिने बताएको थियो । युनेस्कोकी पूर्व प्रमुख इरिना बोकोभाले उक्त निकायबाट अमेरिका अलग हुनु ‘दुःखको विषय’ भएको बताएकी थिइन् । युनेस्कोबाट अलग हुने अमेरिकी निर्णय सन् २०१८ को डिसेम्बर अन्त्यतिर कार्यान्वयनमा आउनेछ र त्यसअघिसम्म अमेरिका युनेस्कोको पूर्ण सदस्यकै रुपमा रहिरहनेछ । अमेरिका र इजरायलले युनेस्कोका केही निर्णयहरुलाई विरोध गर्दै आएको पृष्ठभूमिमा उनीहरुले पछिल्लो निर्णय गरेका हुन् । युनेस्कोले सन् २०११ मा प्यालेस्टाइनलाई पूर्ण सदस्यता दिने निर्णय गरेपछि त्यसको विरोधमा अमेरिकाले उक्त निकायलाई दिंदै आएको सहायतामा कटौती गरेको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.