एजेन्सी / इलाहावाद
भारतमा भएको चर्चित ‘आरुषी–हेमराज हत्याकाण्ड’मा उनका बाबुआमा निर्दोष ठहर भएका छन् । आरुषी हत्याकाण्डका नामले चर्चित सो घटनामा यसअघि जन्मकैदको सजाय सुनाइएका उनीहरूको अपिलको सुनुवाई गर्दै निर्दोष ठहर गरेको हो ।
आफ्नै छोरी आरुषी र घरमा काम गर्ने नेपाली हेमराज बन्जाडेको हत्या आरोपी आरुषीका बाबुआमा राजेश र नुपुर तलवारलाई निर्दोष ठहर गरेको हो । उनीहरूलाई सो घटनामा दोषी ठहर गर्दै सीबीआईको विशेष अदालतले सन् २०१३ को नोभेम्बरमा आजीवन कारवासको फैसला सुनाएको थियो ।
१४ वर्षीया आरुषी सन् २००८ को मे महिनामा नोएडास्थित घरमा नै धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेकी थिइन् । त्यसको एक दिनपछि उनको घरमा काम गर्न बसेका नेपाली कामदार हेमराज बन्जाडेको समेत छिमेकीको घरको छतमा शव फेला परेको थियो ।
उच्च अदालतले तलवार दम्पतीले ‘शंकाको लाभ पाउनुपर्ने’ ठहर गरेको हो । आरुषीको हत्यापछि उत्तर प्रदेश प्रहरीले पहिले बाबु राजेश र पछि हेमराजमाथि शंका गरेको थियो ।
आरुषीको हत्या गरेर हेमराज भागेको आशंका गरिएको थियो । यो हत्याकाण्डले भारतभर ठूलो चासो पैदा गरेको थियो भने यो हत्याकाण्डबारे हरेकजसो सञ्चारमाध्यममा प्रमुख खबर बनेका थिए । बिहीबार इलाहावाद अदालतले जेलमा रहेका आरुषीका बाबुआमालाई तत्काल रिहा गर्न आदेश दिएको उनीहरूका वकिल दिलीप कुमारले बताएका छन् ।
अदालतले आरुषीका बाबुआमामाथि लागेको सो आरोप परिस्थितिजन्य भएको उल्लेख गर्दै सीबीआई पनि आरुषी हत्याकाण्डबारे गरिएको अनुसन्धानमा तलवार दम्पतीले नै आफ्नी छोरीको हत्या गरेको प्रमाणित गर्न असफल भएको बताएको छ । यो फैसलाविरुद्ध सीबीआई पुनः अदालत जान्छ या जाँदैन भन्नेबारेमा अहिलेसम्म स्पष्ट भएको छैन । तलवार दम्पती गाजियावादस्थित डासन जेलमा बन्द रहेका छन् । उनीहरूले आफूहरूलाई जन्मकैदको फैसला सुनाइएपछि उच्च अदालतमा अपिल गरेका थिए । उनीहरूले सीबीआईले लगाएका आरोपहरू अस्वीकार गर्दै आएका थिए । हत्या गरिएका हेमराज बन्जाडे नेपालको अर्घाखाँचीको धारापानीका बासिन्दा हुन् ।