यो वर्षको नोबेल शान्ति पुरस्कार परमाणु अस्त्र निर्मुल पार्न काम गर्दै आएको अन्तर्राष्ट्रिय समूह (आइक्यान) लाई प्रदान गरिएको छ।
नोबेल समितिकी अध्यक्ष बेरिट राइस-एण्डरसनले उक्त समूहले परमाणु अस्त्रमाथि प्रतिबन्ध लगाउने सन्धी ल्याउन गरेको महत्वपूर्ण प्रयासका लागि सो पुरस्कार दिइएको बताइन्।
एण्डरसनले उत्तर कोरियाको प्रसंग समेत उल्लेख गरिन्।
आह्वान
एण्डरसनले परमाणु अस्त्र भएका राष्ट्रहरुले हतियारहरु विस्तारै हटाउनका लागि वार्ताको पहल गर्न आह्वान गरिन्।
नोबेल समितिले भनेको छ, "हामी यस्तो विश्वमा बसिरहेका छौं जहाँ परमाणु अस्त्रको प्रयोगको सम्भावना वर्षौं यताको तुलनामा सबभन्दा उच्च छ।"
जुलाईमा १ सय २२ राष्ट्रहरुले सबै परमाणु अस्त्र प्रतिबन्ध गर्न र अन्ततोगत्वा निर्मूल पार्नका लागि बनाइएको संयुक्त राष्ट्रसंघको सन्धिमा हस्ताक्षर गरेका थिए।
तर ब्रिटेन र अमेरिकासहितका विश्वका ९ वटा परमाणु शक्ति सम्पन्न राष्ट्रहरुमध्ये कसैले पनि त्यसमा हस्ताक्षर गरेनन्।
सयौं गैरसरकारी संस्थाहरु सम्मिलित आइक्यान १० वर्ष पुरानो संस्था हो र यसको मुख्यालय स्वीटजरल्याण्डको जिनिभामा रहेको छ।
उक्त समूहले डिसेम्बरमा हुने कार्यक्रममा ११ लाख डलर सहितको पुरस्कार पाउनेछ। (BBC)