महँगो विमानमा यात्रा गर्ने अमेरिकी स्वास्थ्य मन्त्रीद्वारा राजिनामा
Everest Fuji News२०७४ आश्विन १४ मा प्रकाशितPublished at 2017 Sep 30
असोज १४ – सरकारी भ्रमणका लागि महँगो नीजि विमान प्रयोग गरेको खुलेपछि अमेरिकी स्वास्थ्य मन्त्री टम प्राइसले पदबाट राजीनामा दिनुभएको छ । सरकारी भ्रमणका लागि महँगो नीजि विमान प्रयोग गरेको खुलेपछि उहाँले माफी माग्दै राजीनामा दिनुभएको बिबिसीले जनाएको छ ।
पोलिटिको नामक वेभसाइटले प्राइसले यात्राका लागि १० लाख डलरभन्दा बढी खर्च गरेको र जसमा सैन्य विमानबाट गरिएको यात्रा पनि समावेश भएको सार्वजनिक गरेपछि उहाँले राजिनामा दिनुभएको हो । प्राइसले अहिलेसम्म सरकारी भ्रमणका लागि २६ नीजि विमान यात्राका लागि ४ लाख डलर खर्च गरेको स्वीकार्दै करदातासँग माफी समेत माग्नुभएको छ ।
अमेरिकामा राष्ट्रिय सुरक्षासँग जोडिएको विषयमा यात्रा गर्दाबाहेक अरु सरकारी भ्रमण व्यावसायिक उडानमै गर्नुपर्ने नियम छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्राइसको राजीनामा स्वीकार गरि डन राइटलाई नयाँ स्वास्थ्य मन्त्री बनाउनुभएको छ ।