चीनले आफ्नो भूभागमा संचालित रहेका उत्तर कोरियाली कम्पनीहरु आगामी जनवरी महिनाभित्र बन्द गरिने बताएको छ ।
पारमाणविक अस्त्र विकास गरेको भन्दै उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले प्रतिबन्धहरु लगाएको छ र बेइजिङको यस्तो कदम त्यसै अनुरुप आएको हो।
चीनको वाणिज्य मन्त्रालयले संयुक्त रुपमा सञ्चालित उत्तर कोरिया र चीनका कम्पनीहरुसमेत बन्द गरिने बताएको छ ।
सामना
चीनले उत्तर कोरियाली व्यापारको ठूलो हिस्सा रुप चीनले ओगट्दछ र उक्त पछिल्लो कदमका कारण प्योङ्गयाङ्गले थप आर्थिक कठिनाईहरुको सामना गर्नुपर्ने देखिन्छ ।
यसअघि प्योंगयांगको मुख्य साझेदार रहेको चीनले उत्तर कोरियाबाट गरिने कोइला, समुद्री खानेकुरा र कपडाको आयातहरुमा प्रतिबन्ध लगाएको थियो ।
साथै तेल आयातमा पनि कटौती गरिएको छ।
प्रतिबन्ध
सेप्टेम्बर ११ मा बसेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले उत्तर कोरियाले गरेको छैठौँ र सबभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षणका लागि सर्वसम्मतिका साथ थप प्रतिबन्धहरु लगाएको थियो।
चीन पनि सुरक्षा परिषद्को स्थायी सदस्य हो।
अघिल्लो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका कम्पनी र व्यक्तिहरुविरुद्ध नयाँ प्रतिबन्धहरु घोषणा गर्दै सो सम्बन्धी एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
उत्तर कोरियाले गरेका क्षेप्यास्त्र परीक्षणलाई लिएर अमेरिका र अन्य देशहरुबाट आउने दबाबबाट उत्तरलाई जोगाइरहेको आरोपहरु चीनमाथि बारम्बार लाग्दै आएको छ।
यसैबीच बिहीबार आयोजित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता लु कांगले कोरियाली प्रायद्वीपमा हुने कुनै पनि किसिमको युद्भको विरोध गर्ने बताएका थिए ।