कोरियाली आकाशमा अमेरिकी युद्धक विमान

Everest Fuji News २०७४ आश्विन ३ मा प्रकाशित       Published at 2017 Sep 19


सोल : अमेरिकाले कोरियाली प्रायद्वीपमा सोमबार आफ्ना युद्धक विमान र बम वर्षक विमान उडाएर शक्ति प्रदर्शन गरेको छ । दक्षिण कोरियाली युद्धक विमानका साथ सैन्य अभ्यास गर्दै अमेरिकाले बम आक्रमण गर्ने अभ्यास गरेको हो । अमेरिकाका चारवटा युद्धक विमान र दुईवटा बम वर्षक विमानले कोरियाली प्रायद्वीपमाथि उडान भर्दै उत्तरलाई तर्साउन खोजेका थिए । दक्षिण कोरियाली समाचार समिति योन्हापका अनुसार अमेरिकाले युएस चार एफ-३५बी स्टेल्थ जेट र दुईवटा बी-१बी रणनीतिक बमवर्षक विमान प्रयोग गरेको थियो। उत्तर कोरिया र अमेरिकाबीच विवाद बढ्दै गएका बेला भएको युद्धाभ्यासले यस प्रायद्वीपमा तनाव अझै बढ्ने अवस्था देखिएको छ ।उत्तर कोरियाले शुक्रबार मात्रै जापानी आकाशमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो । केही साताअघि उत्तर कोरियाले हाइड्रजन बम मि िश्रत क्षेप्यास्त्र परीक्षण गरेको थियो । त्यसकै प्रतिउत्तरमा अमेरिकाले आफ्नो शक्ति प्रदर्शन गरेको दक्षिण कोरियाका रक्षामन्त्रीले जानकारी दिएका छन् । दक्षिण कोरियाको रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा अमेरिकी युद्धक विमान र बम वर्षक विमानले कोरियाली प्रायद्वीपमा उडान भरेर अमेरिका र दक्षिण कोरियाको साझा शक्ति देखाएर उत्तरलाई जवाफ दिएको उल्लेख छ । उत्तर कोरियाका परमाणु र क्षेप्यास्त्र आक्रमणको धम्की रोक्न पनि यस्तो गरेको अनुमान गरिएको छ । उत्तर कोरियाले ३ सेप्टेम्बरमा परीक्षण गरेको छैटौं एवं सर्वाधिक शक्तिशाली आणविक परीक्षण र जापानमाथि गरिएको क्षेप्यास्त्र प्रहारपछि अमेरिका आक्रामक रूपमा देखिएको हो । दक्षिण कोरियाले दुई देशबीच आफ्नो साझा शक्ति प्रदर्शन गर्न यस्ता अभ्यास गरिरहने प्योङयाङले स्पष्ट पारेको छ । अमेरिकाले प्योङयाङमाथि लगातार दबाब बढाइरहेको छ । हालै संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि निक्की हालेले आफ्नो हठ नछोडे उत्तर कोरिया ध्वस्त हुने चेतावनी दिएकी थिइन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.