काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको संविधान दिवसका अवसरमा सबै अमेरिकी नागरिकका तर्फबाट नेपाली जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ ।
“यो दिन तपाईँको देशका लागि एक महान् दिन हो र संयुक्त राज्य अमेरिकाका नागरिकहरू तपाईँहरूको लोकतन्त्रको यस उत्सवलाई स्वागत गर्न चाहन्छन्”, राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज पठाइएको ट्रम्पको सन्देशमा भनिएको छ ।
गत साल यो महत्वपूर्ण दिन मनाएयता नेपालले महत्वपूर्ण प्रगति हासिल गरेको उल्लेख गर्दै सन्देशमा भूकम्पपछिको पुनःनिर्माणले तीव्रता पाएको र लाखौँ नेपालीको जीविकोपार्जनको अवस्थामा पनि सुधार हुन थालेको बताइएको छ ।