नेपाल एयरलाइन्सको वाइड बडी विमान खरिद सम्झौता आज हुँदै
Everest Fuji News२०७३ चैत्र २५ मा प्रकाशितPublished at 2017 Apr 07
काठमाडौं । नेपाल वायुसेवा निगमले वाइड बडी विमान खरिद गर्ने सम्बन्धित सम्झौता आज गर्ने भएकाे छ। नेपाल वायुसेवा निगमलाई आवस्यक दुईवटा वाइड बडी विमान बिक्री गर्न टेन्डर हात पारेको अमेरिकी कम्पनी एआर कर्पोरेशन र निगमबीच आज(शुक्रबार) नै सम्झौता हुने निगमका अधिकारीहरुले जानकारी दिएका छन्।
सम्झौताकाे लागि एआरआर र पोर्चुगिच कम्पनी हाइफ्लाइका प्रतिनिधि बिहीबार नै काठमाडौं आएर छलफल सुरु भएपनि भाषा र कानूनी कुरामा रहेको अस्पष्टता नहटेकोले आज फेरि छलफल हुने निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए।
सबैभन्दा सस्तोमा दुईथान वाइड बडी विमान बेच्ने प्रस्ताव गरेको कम्पनीसँग यसअघि माघ १४ मा सैद्धान्तिक सम्झौता सम्पन्न भएको थियो। बैना रकम (दशलाख अमेरिकी डलर) पनि लिइसकेको एआरआरसँग अब खरिद सम्झौता हुने छ। यसअघि एआरआरले पठाएको प्रस्ताव निगमले अध्ययन गरी आफ्नो धारणासहित फिर्ता गरेको थियो।
आज एआरआरसँग छलफल हुने र निगम संचालक बोर्डबाट पारित भएपछि सम्झौता सम्पन्न हुने श्रेष्ठले जानकारी दिए।
गएको कात्तिकमा विमान किन्न प्रकाशित गरेको विश्वव्यापी टेन्डरमा एएआर कर्पोरेसनले एउटा विमानको १० करोड ४८ लाख अमेरिकी डलरको दरमा दुईवटा विमान उपलब्ध गराउने प्रस्ताव गरेको थियो। यसअनुसार निगमले दुईवटा विमान किन्न २२ अर्बबढी नेपाली रुपैयाँ खर्चनुपर्ने छ।
तर सम्झौताको क्रममा हाल प्रस्तावित मूल्य, समय आदिको बारेमा पनि हेरफेर हुनसक्ने निगमले बताएको छ। उल्लेखनीय परिवर्तन भने नहुने निगमका अधिकारीहरुले प्रष्ट पारेका छन्।
एएआरले पोर्चुगलको हाइफ्लाई एयरलाइन्सको लागि भन्दै एयरबसमा अर्डर गरेको दुईवटा ‘ए३३०–२००’ सिरिजका नयाँ विमान उपलब्ध गराउने प्रस्ताव गरेको छ। निगमले भने एक हजार घण्टासम्म उडेका विमान किन्न सकिने भन्दै टेन्डर आव्हान गरेको थियो।
यसरी आफूहरुले सबैभन्दा सस्तोमै नयाँ विमान पाउनु निगमको लागि सौभाग्य भएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए।
सन् २०१८ को मार्चसम्म दुईवटा ‘एयरवस ३३०–२२०’ वाइड बडी खरिद गर्ने योजना बनाएको नेपाल एयरलाइन्सले पहिलो वाइड बडी विमान २०७४ को असोज महिनासम्म र त्यसको ६ महिनापछि अर्को विमान काठमाडौं ल्याउने भनिएपनि अब नयाँ कार्यतालिका अनुसार पहिलो विमान ०७४ मंसिर र अर्को फागुनमा आउने महाप्रबन्धक कंसाकारले जानकारी दिए।
निगमले खरिद गर्ने जहाजमा २–२–२ फर्म्याटका ४० देखि ६० इन्चसम्मको पिच भएका १२ देखि १८ सम्म बिजनेस क्लास, २–४–२ फर्म्याटका ३० देखि ३६ इन्चसम्मको पिच भएका इकनोमिक क्लासका सिट सहित जम्मा २५० देखि २८० सम्म सिट हुनेछन्।
विमान आएपछि जापान, कोरिया, अष्ट्रेलिया, सिंगापुर, ग्वान्जाउ उडान भर्ने निगमको तयारी छ। तर पहिलो वाइडवडीको पहिलो उडान भने कोरियाको इन्चोन एयरपोर्टमा गर्ने निगमले बताएको छ। हाल निगमले एउटा बोइङ र दुईवटा एयरबसबाट हप्तामा भारतका तीन शहरमा २०, हङकङ, बैंकक र क्वालालम्पुर ३/३ र दुबई,दोहामा ४/४ वटा उडान गरी कूल ३७ वटा उडान भर्दै आएको छ।