काठमाडौं/
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सौर्य एयरलाइन्सको जहाज बिहान ११ः११ मा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले आज विज्ञप्ति जारी गर्दै १८ जनाको शव घटनास्थलबाट संकलन गरिएको जानकारी दिएको छ भने दुर्घटनामा क्याप्टेन ३७ वर्षीय मनीष शाक्यको उद्धार गरि केएमसी अस्पतालमा उपचार भइरहेको प्राधिकरणले जनाएको छ। त्यसैगरी घटनास्थलबाट निकालिएको शव त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। दुर्घटनाबाट मृत्यु हुनेमा र्सौर्य जहाजका कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहनु भएको छ भने आरिफ यमनका विदेशी नागरिक हुन् । प्राधिकरणले जारी गरेको विज्ञप्ति अनुसार सौर्यको ९ एन–एएमई÷सिआरजे २०० कलसाइनको जहाज आज बिहान ११ः११ मिनेटमा जहाज मर्मतका लागि पोखरा तर्फ उडान गर्दैगर्दा रनवेमा चिप्लीएर दुर्घटना भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीका अनुसार जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको हो । पछिल्लो प्राप्त जानकारी अनुसार जहाजमा सौर्य जहाजका १९ कर्मचारीहरु रहेको विमानस्थलले जनाएको छ । उक्त दुर्घटनाको सूचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थल त्रिभुवन विमानस्थल पुग्नु भएको उहाँका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिनुभयो । त्यसैगरी, घटना लगतै गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डे तथा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर र एपीएफका महानिरीक्षक राजु अर्याल समेत अवलोकनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भएको थियो । दुर्घटनाको कारण तथा राहतबारे के गर्न सकिन्छ भनेर गृहमन्त्रीले पर्यटनमन्त्री बद्रि पाण्डे सहित सुरक्षा निकायका उच्च अधिकारी समेत संग छलफल गर्नु भएको थियो ।।