काठमाडौं /
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ आज स्थगीत भएको सर्वोच्च अदालतले जनाएको छ ।
हिजोदेखि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिटमाथि सुनुवाइ सुरु भएको थियो । उक्त दिन सुनुवाइ नसकिएपछि मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । तर, आज न्यायाधीश सुवेदी संवैधानिक इजलासमा परेकाले न्यायाधीश ढकाल र सुवेदीको संयुक्त इजलास बस्न नसकेसँगै रविको रिटमा सुनुवाई स्थगीत भएको बताइएको छ । यसअघि हिजो लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दिपेन्द्र झा, नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गर्नुभएको थियो । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्न बाँकी रहेको थियो । यस्तै पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट दायर मुद्दा समेत सँगै रहेकाले श्रेष्ठपछि उनका कानुन व्यवसायीले बहस गर्न बाँकी रहेको थियो ।।